उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवले आफू उपराष्ट्रपतिमा विजयी भएमा संविधानको पालना गर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।
शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू विजयी भएमा संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताएका हुन् ।

‘संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछु’, उनले भने, ‘संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ । नेपाललाई समतामूलक समृद्ध मुलुकको रूपमा विकसित गर्न मेरो भूमिका रहनेछ । म इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्नेछु ।’यादवले नेपाललाई समतामूलक समृद्ध मुलुकको रूपमा विकसित गर्न आफ्नो भूमिका रहने स्पष्ट पारे । उनले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गरे ।