एकदिवसीयमा नेपालले पाएको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो । यसअघि यही वर्षको १४ फेब्रुअरीमा नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

जारी श्रृंखलाको अन्तिम खेलमा कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । उसका लागि आसिफ खानले कीर्तिमानी शतक बनाए ।उनले ४२ बलमा ११ छक्का र चार चौकासहित अविजित १०१ रन बनाए । आसिफले ४१ बलमै शतक बनाए । योसँगै उनी ओडिआईमा सर्वाधिक कम बलमा शतक बनाउने एसोसिएट ब्याटर बने ।त्यस्तै, वृत्य अरविन्दले १३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनको पारी खेले । कप्तान मोहम्मद वसिमले ४९ बलमा ६ छक्का र दुई चौकासहित ६३ रन बनाए । रोहन मुस्तफा २०, सिपी रिजवान सात, आर्यन लाक्रा ६ र आयान अफजल खानले तीन रनमा आउट भए । आजको खेलमा नेपाली बलर महँगा सावित भए ।

टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले १० ओभरमा एक विकेट लिएर ८० रन दिए । त्यस्तै, सोमपाल कामीले ९ ओभरमाा एक मेडनसहित ७१ रन दिएर एक विकेट मात्र लिन सके । गुलशन झाले ८ ओभरमा बिनाविकेट ६३ रन खर्चिए ।

दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले भने किफायती बलिङ गरे । ऐरीले ८ ओाभरमा २ मेडनसहित १९ रन दिएर महत्वूर्ण २ विकेट लिए । ललितले १० ओभरमा २७ रन मात्र खर्चिएर महत्वपूर्ण एक विकेट लिए । कुशल मल्लले भने ४ ओभरमा बिनाविकेट ३८ रन खर्चिए ।