इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न कांग्रेसलाई कठिन भएको छ । संस्थापन र इतर पक्षको आआफ्नै अडानका कारण उम्मेदवार चयनमा कांग्रेसलाई सकस परेको हो । पार्टी सभापति शेरबहादुर देउवाले निर्माण व्यवसायी र जिल्ला सभापतिसमेत रहेका डम्बर खड्कालाई इलाममा उम्मेदवार बनाउन चाहेका छन् । तर, संस्थापन इतर पक्षले लोकप्रियताका आधारमा भेषराज आचार्यको नाम अघि सारेको छ । स्थानीय तहबाट उम्मेदवारको सिफारिस हुँदा पनि आचार्यको नाम एक नम्बरमा छ । दोस्रो नम्बरमा केशव थापा र तेस्रोमा मात्रै खड्काको नाम सिफारिस छ । नेता शेखर कोइराला, शशांक कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताले भने आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् । भर्खरै इलामबाट फर्केको बताउँदै शशांकले त्यस क्षेत्रमा भेषराज नै बढी लोकप्रिय रहेको बताए । नेता शेखरले पनि ‘जित्नेलाई उम्मेदवार बनाउने भए भेषराजलाई दिनुपर्ने, नत्र जे निर्णय गरे पनि हुन्छ’ भन्दै देउवासँग असन्तुष्टि पोखे । उनले जिल्लाको वस्तुस्थितिभन्दा आफ्नो मान्छे नै रोज्ने भए हार–जितको जिम्मेवारी पनि नेतृत्वले लिनुपर्ने बताएका थिए । तर, संस्थापनपक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले यसअघिको निर्वाचनमा खड्का एमाले नेता सुवास नेम्वाङसँग झिनो मतान्तरमा पराजित भएकाले उनैलाई उम्मेदवार बनाउँदा राम्रो सन्देश जाने बताए । उनले सोमबारको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पनि खड्काकै नाम प्रस्ताव गरेका थिए । कांग्रेस सहमहामन्त्री जीवन परियारले केन्द्रको सत्ता समीकरण परिवर्तनसँगै अघिल्लो मत खण्डित भइसकेको बताए । गत निर्वाचनमा माओवादी, एकीकृत समाजवादीले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दा खड्का नेम्वाङसँग १ सय १४ मतले पराजित भएका थिए । गठबन्धन भत्किँदा कांग्रेसका लागि चुनौती बढेको भन्दै परियारले इतर पक्षले लोकप्रिय छवि भएका व्यक्तिलाई टिकट दिनुपर्ने अडान लिएको बताए । देउवाले मंगलबार नै उम्मेदवार चयन गर्ने भनेर संसदीय बोर्डको बैठक डाकेका थिए । तर, उम्मेदवारकै विषयमा कुरा नमिलेपछि बैठक केहीछिन औपचारिकताका लागि बसेर टुंगिएको थियो । ‘जसलाई उम्मेदवार बनाउन खोजे पनि निर्णय गर्नुपर्दथ्यो । एउटा उम्मेदवार बनाउन पनि यस्तो हुनु राम्रो होइन । सभापतिको कार्यशैलीप्रति नै मेरो असन्तुष्टि छ,’ नेता अर्जुननरसिंह केसीले भने, ‘अहिले ग्राउन्डको स्थिति हेरेर कसले चुनाव जित्न सक्छ, उसैलाई उम्मेदवार बनाउनुपर्ने हो ।’ सवारी दुर्घटनामा परेर निधन भएका बझाङको प्रदेशसभा–१ का सांसद पृथ्वीबहादुर सिंहको ठाउँमा देउवाले उनकै छोरा अभिषेक सिंहलाई उम्मेदवार बनाउन खोजेका छन् । तर, यस क्षेत्रमा जगतप्रसाद जोशी, सत्यराज भण्डारीबीच टिकट लिन चर्को प्रतिस्पर्धा चलेको छ । नेम्वाङको भदौ २६ मा निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । यहाँ एमालेले नेम्वाङकै छोरा सुहाङलाई उम्मेदवार घोषणा गरेर प्रचारमा जुटिसकेको छ । रास्वपाले मिलन लिम्बू, राप्रपाले लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीले पनि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । माओवादीले उम्मेदवारी दिने निर्णय गरे पनि व्यक्ति छनोट गरेको छैन । बझाङमा एमालेले दमनबहादुर भण्डारी रएकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।