काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी काण्डबारे छानविन प्रकृया अघि बढाउने निर्देशन दिइरहेका बेला सहकारी पीडितहरुले भने गृहमन्त्री लामिछाने माथि नै सहकारी गठी मुद्धामा छानविन गर्न माग गरेका छन् ।  पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् ।  सूर्यदर्शनबाट ३० करोड, चितवन सहाराबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिमबाट १० करोड ७४ लाख गोर्खा मिडिया नेटवर्कमा बिनाधितो, बिनाप्रक्रिया र गैरकानुनी रूपमा सारिएको विषयमा गम्भीर अनुसन्धान नभएको भन्दै पीडितहरूले गुनासो गरेका छन् ।  पत्रकार महासंघ कास्कीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आइतबार उद्योग वाणिज्य संघको हलतर्फ जाँदै गरेका प्रधानमन्त्रीलाई बाटोमै भेटेर पीडितले ज्ञापनपत्र बुझाएका हुन् ।  ‘प्रधानमन्त्रीलाई बाटोमै ज्ञापनपत्र बुझायौं, उहाँले कुन सहकारी हो भनेर सोध्नुभयो । हामीले अपचलनमा गृहमन्त्री संलग्न रहेको सूर्यदर्शन सहकारी भन्यौं,’ सहकारीपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न र गृहमन्त्री लामिछानेलाई पनि छानबिन गर्न अनुरोध गरेका छौं ।’  ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएकाले छिट्टै नीतिगत निर्णय लिने बताए । १८ हजार ७ सय बचतकर्ता रहेको सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको महानगरको अध्ययनले देखाएको छ । थप २०र२२ करोड ठगिएको भन्दै सयौं जना पुनः जाहेरी दिने तयारीमा रहेको बताउँदै श्रेष्ठले भने, ‘अहिले बचतकर्ताहरूको घरमा रुवाबासी छ, बिरामी हुँदा औषधोपचार गर्ने उपाय छैन ।’ सूर्यदर्शनमा कृत्रिम पुलेसो खाता खोली लामिछानेले एक करोडको कारोबार गरेको पोखरा महानगरको अध्ययन प्रतिवेदनमा उल्लेख छ । छानबिनमा सहयोग गर्न लामिछानेलाई पटक–पटक अनुरोध गर्दा सुनुवाइ नभएको श्रेष्ठले बताए । ‘सूर्यदर्शनको समस्या बाहिर आएको १ वर्ष ८ महिना हुँदासम्म जीबी राई फरार छन्,’ श्रेष्ठले भने, ‘सत्ता बाहिर रहँदा पनि लामिछानेमाथि सरकारले अनुसन्धान गरेन । अहिले पनि अनुसन्धान भएको छैन, हाम्रो आपत्ति छ ।’ यता सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।