काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबिया विरुद्ध कमजोर लक्ष प्रदान गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७ ओभर १ बल खेल्दा सवै विकेट गुमाएर १६८ रन मात्रै बनाउन सक्यो । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ सेखले उत्कृष्ठ सुरुवात गरेपनि त्यसले निरन्तरता पाउन सकेन । कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्य रनमा आउट  भए ।  आसिफ सेखले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ६४ बल खेल्दा ८ चौका र एक छक्का हिर्काएका थिए । नेपालका लागि कुशल मल्लले ३६ र भीम सार्कीले २६ रन बनाए । कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाए ।  नेपाल विरुद्ध कसिलो बलिङ गरेको नामिबियाका लागि जान निकोल लाफ्टी र बर्नान्ड स्होल्जले समान चार चार विकेट लिए । नामिबियासँग पहिलो खेलमा बेहोरेको हारको बलदा लिने मौका नेपाललाई अझै पनि छ। लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।  हालसम्मको अवस्थामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीन वटै टोलीले समान एक एक खेलमा जित हात पारेको छ। जितको रेसियोका आधारमा बराबर अंक भएपनि तालिकामा नेपाल पहिलो नम्बरमा छ ।