नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विधान अधिवेशनमा आज समुहगत छलफल हुने भएको छ । हिजो मंगलबारदेखि सुरु अधिवेशनमा हिजो उद्घाटनसहित विधान मस्यौदामाथि छलफल गर्न विभिन्न २० समुह गठन भएको थियो । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सो सम्मेलनमा तीन दिनसम्म विधान केन्द्रित छलफल हुनेछ । कतिपय समूहले छलफल गर्न समुहको नेतृत्व चयन गरिसकेका छन् भने कतिपय समुहले आज गर्ने तयारी गरेको एक सहभागिले जानकारी दिए । पार्टीको विधान टुंगो लगाउँदै सोहीनुसार सांगठनिक संरचनालाई बलियो बनाउँदै अगाडि बढ्ने तयारीमा माओवादी केन्द्र रहेको छ । विधान सम्मेलन सकिएपछि केही महिनापछि पार्टीको विशेष महाधिवेशन पारित विधानअनुसार हुन्छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान सम्मेलनको उद्घाटन गरेका छन् । विधानमार्फत सांगठनिक संरचनामा केही परिवर्तन गर्न खोजिएको माओवादीले जनाएको छ । माओवादी अध्यक्ष प्रचण्डले विधान भद्दा भएको भन्दै परिमार्जन गरी चुस्त बनाइने बताए । माओवादीले विधान सम्मेलनमार्फत केन्द्रीय समितिसहित संगठनको आकार छरितो बनाउने भएको छ । माओवादीले केन्द्रीय समितिलाई २१ सय ५१ को संख्या आसपास ल्याउनेगरी छलफल अघि बढाएको छ । अध्यक्ष प्रचण्डले पार्टीको समिति प्रत्यक्ष निर्वाचनबाट गठन गर्ने प्रस्ताव पेस गरेका छन् । स्थानीय तहदेखि केन्द्रीय समितिसम्मका पार्टीका संरचनामा निर्वाचन हुनुपर्ने माग भएकाले निर्वाचनको विषयलाई हलले नै टुंग्याउने उनले बताए । ‘पार्टीमा भएको छलफल, माग र अनुभवले पनि पार्टीका स्थानीय तहदेखि केन्द्रीय समितिसम्मका संरचना निर्वाचित गर्नुपर्ने हुन्छ, प्रत्यक्ष भन्दै गर्दा समावेशिता पनि हेर्नुपर्ने हुन्छ, समावेशी प्रतिनिधित्वका लागि कति प्रतिशत राख्ने भन्ने विषयलाई हलले नै टुंग्याओस्,’ प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने । सम्मेलनअघि दुई दिनसम्म चलेको माओवादी केन्द्रीय समिति बैठकमा नयाँ विधानको मस्यौदामाथि छलफल भएको थियो ।