काठमाडौं, मङ्सिर ९ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ।

शनिबार काठमाडौंमा आइवार्ट नेपाल इन्टरनेशनल वुमेन्स फिल्म फेस्टिबल, २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो।

उहाँले सरकारले महिला चलचित्रकर्मीलाई कसरी प्रर्वद्धन गर्ने भन्नेबारेमा विभिन्न हिसाबले सोचिरहेको बताउनुभयो। उहाँले संविधानले समावेशिताको विषय उठाएको र सबै क्षेत्रमा महिलाले विकास गर्दै गइरहेको पक्ष आफैँमा राम्रो भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘सरकारले महिला चलचित्रकर्मीलाई कसरी प्रमोट गर्ने, विभिन्न सेक्टरमा जसरी अहिले हाम्रो संविधानले हाम्रो लोकतन्त्र, गणतन्त्रले महिलाको समावेशिताको विषय जुन ढंगले उठाएको छ।

सबै सेक्टरमा महिलाले जुन ढंगले आफूलाई विकास गरिरहनुभएको छ, उपस्थिति मात्रै होइन, त्यो क्षेत्रको नेतृत्व गर्ने ढंगले जसरी विकास भइरहेको छ, यो आफैँमा हाम्रो व्यवस्थाको सुन्दर पक्ष हो। यस क्षेत्रमा महिला चलचित्रकर्मीले जसरी प्रयत्न गरिरहनुभएको छ, त्यो उद्देश्यसँग पुग्न नेपाल सरकारसँग चलचित्र विकास बोर्ड छ। राज्यले महिला चलचित्रकर्मीलाई कहाँ सहयोग गर्नसक्छ, त्यो गर्नेछ।’’

मन्त्री शर्माले राज्यले महिला चलचित्रकर्मीलाई आवश्यक सहयोग गर्ने बताउनुभयो।

गोरखापत्र दैनिक बाट