कपिलवस्तु । नेपालकै दोस्रो वर्ड सेन्चुरी (पक्षी आरक्ष क्षेत्र) घोषणा गरिएको कपिलवस्तुको जगदीशपुर जलाशय क्षेत्रका चरा असुरक्षित बनेका छन् । चराको राजधानीको रूपमा रहेको जगदीशपुर तालमा मोटर बोट (स्टिमर) सञ्चालन हुँदा चराहरूको वासस्थान नै असुरक्षित बनेको हो ।

जिल्लाको कपिलवस्तु नगरपालिका ९ मा रहेको जगदीशपुर तालमा अत्याधुनिक १० सिटे (चालक सहित) मोटर बोटको सञ्चालन पछि चराको वासस्थान बिथोलिएको छ भने आगन्तुक चराको आगमनमा असर परेको हो । तालको संरक्षण गर्दै आएको जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्चले ०७६ सालदेखि यहाँ पाइढल डुङ्गा ठेक्का लगाउँदै आएको थियो भने एक सातादेखि तालमा स्टिमर सञ्चालन गरेको छ ।

तालको पश्चिमी क्षेत्रको करिब ५ हेक्टर क्षेत्रमा स्टिमर चलाइएको छ । फिल्मी शैलीमा तीव्र गतिमा घुमाई घुमाई पानीमा छाल ल्याई चलाइने स्टिमरले तालमा बसेका चराहरू भाग्ने गरेको स्थानीयको भनाइ छ ।

जाडो मौसम सुरु भए सँगै तालमा आगन्तुक चराको आगमन सुरु भएको छ । जगदिशपुर ताल चराहरूको लागि प्रख्यात ताल हो, चराकै कारण तालको लोकप्रियता छ। चारै नरहे जगदीशपुरको तालको सतीत्व रहँदैन । चरा चारिएर बस्ने ठाउँमा नै मोटर बोट र डुङ्गा सञ्चालनका कारण उनीहरूको वासस्थानमा खलल पुगेको छ । यसले राम सार क्षेत्र खतराको सूचिको क्षेत्रमा पर्ने सम्भावना भएको वरिष्ठ चराविद् डा. हेम सागर बरालले बताए ।

तालको संरक्षण गर्ने दायित्व लिएको कपिलवस्तु नगरपालिकाले मञ्चलाई स्टिमर खरिदका लागि ५ लाख अनुदान दिएको थियो । मञ्चले थप लगानी गरी १३ लाख ५० हजारको लागतमा स्टिमर खरिद गरिएको जनाएको छ । आरक्षमै चरा असुरक्षित छन् तर सरोकारवाला निकाय भने मौन रहेको स्थानीयको गुनासो छ । यता डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले तालमा खुट्टाले चलाउने डुङ्गा सञ्चालन गर्न अनुमति दिएको भए पनि नियम विपरीत चलेको स्टिमर सञ्चालन गर्न आदेश नदिएको बताए ।

मञ्चका अध्यक्ष ललित गुरुङका अनुसार तालमा स्टिमर र डुङ्गा सञ्चालन गर्दा चरालाई कुनै नोक्सानी नभएको बताए । चरा नजिक डुङ्गा र स्टिमर जाँदा चरा उडेर केही पर जाने र पुन सोही स्थानमा आएर आफ्नो आहार खोज्ने र खेल्ने गरेको उनले बताए । चरा विज्ञले अनावश्यक टीकाटिप्पणी गरी डुङ्गाकै कारण चराहरू हराउँछ भने भ्रम सृजना गरिदिएको बताए । उनले तालमा स्टिमर परीक्षणको रूपमा सञ्चालन भएको बताए । पाहुना चरालाई असुरक्षित भएको देखिएमा स्टिमर बन्द गर्ने बताए । स्टिमर चढ्न दैनिक ४ सय पर्यटक आउने गरेका छन् ।

१५७ हेक्टरमा फैलिएको नेपालकै दोस्रो पक्षी आरक्ष क्षेत्र जगदीशपुरले हिउँदमा मात्रै १५ देखि २० हजार आगन्तुक चरालाई आश्रय दिँदै आएको छ । सन् २००१ म विश्व सिमसार क्षेत्रमा सूचीकृत उक्त ताललाई लुम्बिनी प्रदेश सरकारको पहलमा सन् २०२२ मा वर्ड सेन्चुरी घोषणा गरिएको थियो ।

अहिले हिउँदको समयमा मध्य एसियासहित चीन, रुस, मङ्गोलिया, युरोप, कोरिया र तिब्बती क्षेत्रबाट चिसो छल्न, फुल पार्न र बचेरा हुर्काउन आउने चराहरू अवैध मानवीय हस्तक्षेपका कारण अप्ठेरोमा परेको विज्ञहरूको ठहर छ । समयमै सरोकारवालाले जगदीशपुर तालको संरक्षणमा ध्यान नदिए यसको अस्तित्व गुम्न सक्ने खतरा बढेको छ ।

राजधानी दैनिक बाट