२०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरेको छ । जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा आउँदा पुराना स्थापित र पछि आएका कम्पनीहरु सँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार गर्नु ठुलो चुनौती थियो। कम्पनी स्थापना पछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा संजाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई नै भोग्नु पर्यो ।
नेपालको जीबन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विस्वासनियता बृद्धिलाई प्राथमिकतामा राखेका थियौ । प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशै भरी अभियान संचालन गर्‍यौं ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यी सबै कार्यक्रम संचालन गरेको कारण कारोबारमा निरन्तर बृद्धि संगै कम्पनीको राम्रो ब्राण्ड स्थापित गर्न सफल भएका छौ । त्यसैको फलस्वरुप प्रत्येक वर्ष मूनाफा संगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनी भन्दा राम्रो दिन सफल भएका छौँ । कम्पनीले गत आ.व. २०७८/७९ को पौष मसान्तको तुलनामा चालु आ.व. २०७९/८० को पौष मसान्त सम्ममा चुक्ता पूँजीमा ५०%, जगेडा कोषमा ६०.७ %, जीवन बीमा कोषमा ५६.४%, महाविपत्ति कोषमा ४४.५%, कर्जा लगानीमा २९.५%, दाबी भुक्तानीमा ३८% र मुनाफामा ३५.४% ले बृद्धि गर्न सफल भएको छ ।
नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र भित्र अनिवार्य रुपमा पूँजी बृद्धि गर्ने निर्देशन दिए पछि प्रभु लाईफ इन्स्योरेन्स सँग मर्जरको लागि अगाडी बढेका छौँ । भारतिय बीमांकी बाट सम्पत्ती दायीत्वको मुल्याङ्कन प्रतिवेदन आउन निकै ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न नसकेता पनि २०७९ चैत्र भित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानी कर्ता र बीमितहरुको हितलाई सधै सर्वोपरि राखि काम गर्ने विश्वास दिलाउन चाहन्छौँ।