पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आएका छन् । पर्यटकीय नगरी पोखरा आएका उनले यहाँ फेवातालमा मोटरबोट चढेर ताल सयर गर्नुका साथै धार्मिक पर्यटकीय क्षेत्र पुम्दीकोटस्थित विशाल महादेव मूर्तिको अवलोकन गरे ।

उनले मूर्तिको दर्शन गर्दै त्यहाँबाट चित्ताकर्षक देखिने फेवाताल, हिमाल र समग्र पोखराको अवलोकन गरे । विगतमा पनि पोखरा आएको स्मरण गर्दै उनले पोखरा निकै सुन्दर रहेको प्रतिक्रिया दिएको उनको भनाइलाई उद्घृत गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले बताए । त्यहाँबाट फर्केपछि उनले फेवातालमा मोटरबोट चढेर ताल सयर गरेका हुन् । उनले सयर गर्दा साँझ परिसकेको थियो । डुंगा सयरका क्रममा भने सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

चारदिने नेपाल भ्रमणका क्रममा उनी सोमबार दिउँसो सेनाको हेलिकोप्टरबाट पोखराको पुरानो विमानस्थल ओर्लिएका थिए ।

पोखरामा उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले स्वागत गरेका थिए । महासचिव गुरेटेसलाई मुख्यमन्त्री पाण्डेले माला पहि¥याएर स्वागत गरे भने मेयर आचार्यले ढाकाटोपी लगाइदिएका थिए ।

महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्केको थियो । खुसी मुद्रामा उनले पोखरेलीको न्यानो स्वागत ग्रहण गरेको देखिन्थ्यो ।

उनको स्वागतमा विभिन्न सामाजिक संघ संस्था र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू नेपालको राष्ट्रिय झण्डा, युएनको झण्डा र विभिन्न किसिमका मौलिक बाजासहित उपस्थित भएका थिए ।

उनको स्वागतार्थ विमानस्थलको बाहिरपट्टी सांस्कृतिक झाँकीसहित मौलिक नाच प्रस्तुत गरिएको थियो । नेवारी समुदायमा प्रचलित तायमचा, जनजाति समुदायको सोरठी, नौमती बाजालगायत मौलिक संस्कृति देखाइएको थियो । परम्परागत वेशभूषामा सजिएका आमा समूह, जनप्रनिधि, पर्यटन व्यवसायीलगायतले महासचिव गुटेरसलाई स्वागत गरे ।

उनी सोमबार साँझ फिस्टेल लजमा बसेका छन् ।

मंगलवार बिहान विश्वकै चर्चित अन्नपूर्ण बेसक्याप जाने कार्यक्रम रहेको प्रजिअ घिमिरेले बताए । उनी नेपाली सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण बेसक्याम्प जाने कार्यक्रम छ । जलवायु परिवर्तनको असर’bout बुझ्न र प्रत्यक्ष अनुभव गर्न उनी त्यहाँ जान लागेका हुन् ।

महाचिव गुटेरेसको भ्रमणसँगै पछिल्लो समय पोखरा अतिविशिष्ट विदेशी पाहुनाको भ्रमणस्थलका रूपमा स्थापित हुँदै गएको छ । फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै अन्नपूर्ण हिमाल र यससँग प्रत्यक्ष जोडिएका पोखरालगायतका गन्तव्यहरूले पर्यटकीय महत्व पाएका हुन् । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले गरेको अन्नपूर्ण आधार शिविरको पदयात्रा पछि पोखरालाई आधार बनाएर अन्नपूर्ण, धवलागिरिजस्ता हिमालका पेरिफेरीमा पदयात्रातर्फ पनि आकर्षण बढेको हो ।

सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले पोखराको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९८० को दशकदेखि फस्टाउँदै गएको यहाँको पर्यटनलाई समय–समयमा हुने गरेका अतिविशिष्ट व्यक्तिको आगमनले यहाँको गरिमा र महिमा अझै चुलिएको हो ।

राजधानी दैनिक बाट