काठमाडौं । सर्वोच्च अदालतले नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई छाड्नुपर्नाको कारण लिखित रूपमा सात दिनभित्र पेस गर्न आदेश दिएको छ ।  न्यायाधीश मनोजकुमार शर्माको इजलासले भारती शेर्पाद्वारा दायर रिटमा लिखित कारण माग गरेको हो । पीडित परिवारको सुरक्षा व्यवस्था गर्न पनि सरकारलाई आदेश जारी गरिएको छ ।  संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी दिएका थिए । पूर्वपतिका हत्यारालाई राष्ट्रपतिले माफी दिनु संविधा विपरीत भन्दै शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । जसमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँकेलगायतलाई लिखित जवाफ पेस गर्न र पीडित परिवारको सुरक्षा व्यवस्था गर्न आदेश दिएको हो । काँग्रेस तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका गुन्डा नाइके रिगल भनिने योगराज ढकालले भारतबाट सञ्चालन हुने बसहरूबाट अवैध हप्ता असुली गर्थे । असुलीमा व्यवधान गरेको भन्दै २०७२ असार २८ अपराह्न ३ बजे मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।