सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गणेश मूर्ति सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुदायबीच भएको झडप तथा विवादले उग्ररुप लिएपछि मलंगवा नगरपालिकामा बिहीबार राती १० बजेदेखि लगाइएको कफ्यू आदेश परिमार्जन भएको छ । कफ्यू लागेको चौथो दिनमा अवस्था सहज भएपछि दिनको कफ्यू आदेश निष्कृय गरी राती ८ बजे देखी विहान ४ बजे सम्म कफ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला सुरक्षा समिति, सर्लाहीको अध्यक्ष एवंम प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह, मलंगवा नगर प्रमुख नागेन्द्रप्रसाद यादव, मधेश प्रदेशका प्रदेश सांसद कौशल किशोरराय यादव लगायतको पदाधिकारीहरुको समन्वय सहजीकरण बैठक बसी कफ्यु आदेश परिमार्जन गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

समन्वय सहजीकरण बैठकले मुर्ती सेलाउने क्रममा भएको विवादले मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढंगामुढा प्रहार, उत्श्रृंख्ल गतिविधि, लगायत विरोध प्रदर्शनका कारण सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम हुन सक्ने स्थिति देखिएकोले अर्को आदेश नहुन्जेल सम्म स्थानीय प्रशासन ऐन , २०२८ को दफा ६(क) (१) (३) बमोजिम जारी कफ्यु आदेश परिमार्जन गरी दिनको समयमा कफ्र्यू निष्कृय गरी रातीदेखि विहानसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

दिनको समयमा कफ्र्यू निष्कृय भए पनि सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साविक मलंगवा क्षेत्र भित्र कुनै प्रकारको भेला हुन, जुलुस गर्न, बैठक, प्रदर्शन, पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टास्न वा लेख्न निषेध गरिएको छ ।

त्यस्तै समाजिक सञ्जालमा समाजिक सदभाव बिगार्ने खालका हल्ला एवम अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइवर अपराध गरेको अभियोगमा कानून अनुसार कार्वाही गर्ने, यस प्रकारको हल्ला एवम अफवाहको पछि नलाग्न आम सर्वसधारणहरुलाई सचेत र सजग रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध समेत गरेको छ ।

यसैगरी सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुंगामुढा, प्रहार, उत्श्रृंख्ल गतिविधि, लगायतका विरोद्ध प्रदर्शन गर्ने, समाजिक सदभाव बिगार्ने खालका घटना घटाउने एवम् घटनामा संलग्न जो कोहीलाई कडा कार्वाही गर्ने समन्वय सहजीकरण बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र रायले यो दुई पक्षको विवाद नभएर केही उत्श्रृङख्ल व्यक्तिहरूको भएको बताउनुभयो । आफूहरू समस्या समाधान गर्न दुई पक्षकै अगुवाहरूको बैठक बसी स्थिति सामान्य बनाउनु लागि परेको उहाँले बताउनुभयो ।सदरमुकाम मलंगवामा अहिले प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

राजधानी दैनिक बाट