आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न बाह्र संस्था तथा व्यक्तिको नाम उल्लेख गरी तीविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी हुन् ।

घटनाको अनुसन्धान गरी पाऊँ भनी अधिकारीबाट किटानी जाहेरी परेको परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

काठमाडौंको नयाँ बानेश्वरमा यही माघ १० गते शरीरमा प्रज्वलनशील पदार्थको प्रयोग गरी आगो लगाउँदा गम्भीर घाइते भएका आचार्यको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ११ गते बिहान निधन भएको थियो । आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा उल्लेख भएका व्यक्ति र संस्थाको नाम किटेर श्रीमती नानुकाले जाहेरी दिएकी हुन् ।

‘मृतक श्रीमान्ले आफ्नो फेसबुकमा आत्महत्या गर्नुअघि पोष्ट गरेको मृत्युकालीन घोषणालाई म जाहेरवालीले मेरो फेसबुकबाट उतारेको प्रमाण र मेरो शङ्काको आधारमा १२ कसुरदार रहेको किटानी जाहेरी पेश गर्दछु’, नानुकाको जाहेरीमा उल्लेख छ । जाहेरीमा मृतक आचार्यले फेसबुक स्ट्याटसमा नाम उल्लेख गरेको कलेज, विभिन्न कम्पनी र उद्योगीको नाम समावेश छ । ‘उक्त घटना के कसरी घट्न गयो ? आवश्यक अनुसन्धान गरी पाऊँ’, जाहेरीमा उल्लेख छ ।