ललिता निवास प्रकरण : सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा अनियमितता प्रकरणमा मुछिएका धमाधम पक्राउ पर्न थालेका छन् । आइतबार मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले तीन जनालाई पक्राउ गरेसँगै सो प्रकरणमा पक्राउ हुनेको संख्या १२ पुगेको छ ।

आइतबार पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुवप्रसाद अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । घिमिरेलाई भक्तपुर र अर्याललाई कलंकीबाट र राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

यो प्रकरणमा यसअघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीकुमार शाह, गोपाल कार्की र धर्मप्रसाद गौतम, काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराई, घमनकुमार कार्की, बाबुराजा महर्जन, समरजंग कम्पनीका तत्कालीन प्रमुख तथा नासु रमेशकुमार पोखरेल, मोही देवनारायण महर्जन गरी नौ जना पक्राउ परेका थिए ।

ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोगको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा १ सय ७५ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिसकेको छ । चारपटकमा गरी सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएकाले लिखतसम्बन्धी चारवटा कीर्ते कसुरमा मुद्दा चलाउने तयारी सीआईबीको छ । सीआईबीले भने ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गराउँदै अनुसन्धान अघि बढाएको हो ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउनेदेखि गुठीमासमेत ल्याएर हत्याउने खेल चार ‘चरण’मा पूरा गरेको सीआईबीको निष्कर्ष छ । सीआईबीको अनुसन्धान रिपोर्टअनुसार २० वर्षको अवधिमा ४ चरणमा सो जग्गा हत्याइएको छ । २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गालाई व्यक्ति र गुठीको नाममा ल्याएर व्यक्तिको नाममा कायम गरेको तथ्य भेटेको जनाएको छ ।

२०४९ सालमा १ सय १२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको थियो । २०४९ कात्तिक २५ मा मालपोत कार्यालय डिल्लीबजार मिसिल नम्बर १०२४ अन्तर्गत २६ रोपनी ६ आना १ पैसा जग्ग्गा सुवर्णशमशेरका हकवाला भन्दै सुनीति राणा, शैलजा राणा, रुक्मशमशेरसमेतको नाममा जग्गा दर्ता गर्ने निर्णय गरेको देखिन्छ । यसरी २६ वटा कित्ता जग्गा राणा परिवारको नाममा दर्ता गरिएको थियो ।

२०४९ कात्तिक २५ मा नै मिसिल नम्बर १०२५ अन्तर्गत ४९ रोपनी ३ पैसा जग्गा शैलजा राणा, हेमनशमशेर, हाटकशमशेरको संयुक्त नाम दर्ता गर्ने निर्णय गरिएको थियो । यसमा २७ कित्ता जग्गा थिए । २०४९ पुस २९ मा नै मिसिल नम्बर १०२४ अन्तर्गत २८ रोपनी १५ आना १ पैसा जग्गा रुक्मशमशेर, शैलजा राणा र सुनीति राणा संयुक्त रूपमा दर्ता गर्ने निर्णय भएको थियो । यसमा १९ कित्ता थिए । २०४९ पुस २३ मा नै १०२५ नम्बरको मिसिल खडा गरी ७ रोपनी १४ आना जग्गा शैलजा राणा, हेमनशमशेर र हाटकशमशेरको संयुक्त नाममा नाम सारी गर्ने निर्णय मालपोत भएको देखिन्छ । यसमा चार कित्ता थिए ।

ललिता निवास जग्गा प्रकरणमा सीआईबीले अनुसन्धान गर्दा मिसिल नम्बर १०२४ र १०२५ नै गायब पारिएका भेटिएको छ । मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता)मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ र यस’bout अनुसन्धान गर्न १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यो बेला सुनीति राणाको नाम छुट दर्ता गरिएको थियो ।

२०१८ सालमा तत्कालीन श्री ५ को सरकारले राज्यविरुद्ध गतिविधि गरेको भन्दै राणाहरूको जग्गा जफत गरेको थियो । त्यसपछि २०२१ सालमा सरकारलाई जग्गा आवश्यक रहेको भन्दै ६ वटा दरबार अधिग्रहण गरिएको थियो । सरकारी प्रयोगमा आवश्यक हुने भन्दै २०२१ मंसिर १७ गते भरत समशेर, सुवर्ण समशेरलगायतको नामको घरजग्गा क्षतिपूर्ति दिएर तत्कालीन गृह पञ्चायत मन्त्रालयले अधिग्रहण गरेको थियो ।

२०१८ मा जफत र २०२१ मा अधिग्रहण गरिएको जग्गामध्ये केही जग्गा नै २०४७ सालपछि व्यक्तिको नाममा लगेर हत्याएको पाइएको छ । २०४७ सालको अन्तिरम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले जफत गरिएका जग्गामध्ये प्रजातन्त्र ल्याउन लड्ने, हदबन्दीभित्र पर्ने र गृह मन्त्रालयको टोलीले छानबिन गरेपछि फिर्ता गर्नुपर्ने देखिएमा फिर्ता गर्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई देखाउँदै तत्कालीन सरकारले तोकेका तीनवटै मापदण्ड पूरा नगरी व्यक्ति तथा गुठीको नाममा ल्याएर १ सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गराइएको पाइएको सीआईबीको निष्कर्ष छ ।

अन्तरिम सरकारको सो निर्णयपछि मालपोतमा लेखनदासको काम गर्दै आएका रामकुमार सुवेदी र शोभाकान्त ढकालको योजनामा नक्कली मोही खडा गरेर २०४९ सालदेखि सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको खुलेको छ । यसको मुख्य योजनाकार नै सुवेदी दम्पत्ति र ढकाल रहेको सीआईबीले दाबी छ । त्यसपछि २०६२ सालमा सुनीति राणा र हेमाद्री शमशेर राणाको नाममा जग्गा ल्याइएको थियो । त्यसबेला सुनीतिको नाममा १२ आना जग्गा छुट भन्दै दर्ता गराइएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *