पशुपतिमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम मात्र रहेको पशुपति क्षेत्र विकास कोषले दावी गरेकाे छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जलहरी झिकेर जोख्दा जलहरीको तौल १०७ किलो ८०७ ग्राम मात्र रहेको पशुपति क्षेत्र विकास कोषको प्रवक्ता रेवतिरमन अधिकारीले बताए।

आयोगले आइतबार पशुपति क्षेत्र खाली गराइ जलहरी निकालेको थियो। जलहरी जोखेका बेला भक्तजनहरूलाई मन्दिर दर्शनका लागि रोकसमेत लगाइएको थियो।

सुनको जलहरीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले नापजाँच गरेको हो। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा जलहरीमा अनियमितता भएको उल्लेख छ। यो विषय अख्तियारमा पुगेपछि उसले छानबिन थालेको हो। ‘पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरिएको छ। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ प्रतिवेदनमा लेखिएको छ।

प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ। रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ रूपैयाँ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरिएको छैन।’

कोषका पदाधिकारीले पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा १०८ किलोग्राम सुन प्रयोग भएको जनाएका छन्। तर जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग गरी बाँकी गायब बनाएको आरोप कोषका पदाधिकारीमाथि लागेको छ।नागरिक दैनिक बाट