रेडपाण्डा संरक्षणमा सक्रिय जुम्लाका स्थानीय

जुम्ला । जुम्ला रारा जाने मूल बाटोमा पर्ने पटमारा गाउँमा पर्यापर्यटन प्रर्वद्धनका लागि सरसफाइ अभियान सुरु भएको छ । जुम्ला विमानस्थल हुँदै पटमारा खाली भएर पर्यटक रारा पुग्ने मार्गमा पर्ने पटमारा गाउँमा आजबाट पर्यापर्यटन प्रर्वद्धनका लागि सरसफाइ अभियान सुरु गरिएको हातेमालो नेपाल जुम्लाका कार्यक्रम अधिकृत विकास भण्डारीले जानकारी दिए । ‘पटमारा गाउँमा ६ जना महिलाको सक्रियतामा पटमारा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ, जुम्ला खलंगा, खाली पाटन, भुलभुले हुँदै रारा जाने पर्यटक होमस्टेमा बस्ने भएकाले स्वच्छ वातावरण कायम राख्न सरसफाइ अभियान थालिएको हो,’ भण्डारीले नयाँ कर्णालीसँग भने ।

पटमारा प्राकृतिक सौन्दर्यका हिसाबले अब्बल छ । लेकाली क्षेत्रमा पाइने कोणधारी वन, लालिगुँरास, भोजपत्र, खस्रु प्रशस्तै छ । यति मात्रै होइन पटमाराको महारुद्ध र सलिनधारा सामुदायिक वनमा विश्वकै लोपउन्मुख सुन्दर जीव रेडपाण्डा ‘नौटोटो’ पाइन्छ । रेडपाण्डाको संरक्षण गर्दै पर्यापर्यटन प्रवद्र्धनका निम्ति पटमाराका स्थानीय विगत पाँच वर्षदेखि सक्रिय रहेको हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतले जानकारी दिए ।

४ सय ८१ हेक्टरमा फैलिएको महारुद्ध सामुदायिक वनभित्र रेडपाण्डा देख्न सकिने पातारासी ७ का वडा सदस्य रुद्रलाल थापाले बताए । नेपालमा ३ सयदेखि ५ सयसम्मको संख्यामा रहेको रेडपाण्डा पटमाराको सामुदायिक वनमा हुनु पर्यटनका दृष्टिले महत्पूर्ण रहेको उनको भनाइ छ । देश, विदेशका पर्यटकलाई आकर्षित गर्न रेडपाण्डाको संरक्षणमा यहाँका स्थानीय जुटिरहेको उनले जानकारी दिए । वातावरण स्वच्छ राख्न हरेक महिना सरसफाइ अभियानलाई निरन्तरता दिइने उनले प्रतिबद्धता व्यक्त गरे ।

पटमारा पुग्ने पर्यटकलाई अर्गानिक खान्की र संस्कृतिबाट स्वागत तथा सत्कार गर्दै आएको होमस्टे सञ्चालन समितिकि अध्यक्ष राजकली रावतले बताइन् । ‘गाउँघरमा उत्पादन हुने स्रोतसाधनबाटै होम स्टे सञ्चालन भइरहेको छ तर स्थानीय सरकारले आवश्यक समन्वय भने गर्न सकेको छैन,’ होमस्टे सञ्चालक जानदेवी बुढा थापाले बताइन् ।

रेडपाण्डा नेटवर्क र हातेमालो नेपाल जुम्लाको साझेदारीमा पश्चिम नेपालमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम जुम्लाका तीन स्थानीय तह (सिंजा, तातोपानी र पातारासीमा)मा सञ्चालनमा रहेको रेडपाण्डा नेटवर्कका कार्यक्रम अधिकृत दिनेश घलेले बताए । विश्वका पाँच मुलुकमा मात्रै पाइने रेडपाण्डाको संख्या १० हजारभन्दा कम रहेको उनले बताए । चोरी सिकारी र बासस्थान नास हुँदा रेडपाण्डा लोपउन्मुख अवस्थामा रहेको उनले बताए । पर्यापर्यटनका लागि रेडपाण्डाको संरक्षण आवश्यक रहेको उनले बताए ।

राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *