राजनीतिक ‘ओत’मा टोपबहादुर

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा जोडिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धान अघि नै बचाउन राजनीतिक दौडधुप तीव्र बनेको छ ।

नक्कली शरणार्थी बनाउने गिरोहका आठ जना व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेर बयानसहित अनुसन्धान अघि बढाएपछि पूर्वमन्त्री समेत रहेका रायमाझीको नामसमेत मुछिएको छ । उनको नाममा पक्राउ पुर्जी जारी गरेर प्रहरीले उनलाई खोजी गरिरहेको छ । प्रहरीकै भाषामा उनी फरार छन् ।

रायमाझी गत बुधबार अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर राति बुटवल आइपुगेका थिए । बुटवल आएपछि उनी सम्पर्कविहीन छन् । उच्च स्रोतका अनुसार उनी काठमाडौं आइसकेका छन् र राजनीतिक ‘ओत’ (संरक्षण)मा छन् । सो कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । सोही दिन प्रहरीले रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरेको थियो ।

रायमाझीको नाम नक्कली शरणार्थी प्रकरणमा जोडिएपछि प्रहरी अनुसन्धानलाई नै फितलो बनाउने गरी राजनीतिक सक्रियता बढ्दो छ । रायमाझीलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबार पुगेरै भेटेका छन् । शनिबारसमेत ओलीले प्रधानमन्त्रीसँग सिंहदरवार पुगेर भेटेका थिए भने गत बिहीबार पनि उनीहरुबिच भेट भएको थियो । भेटमा ओलीले प्रचण्डलाई राजनीतिक प्रतिशोध नसाध्नसमेत चेतावनी दिँदै आइरहेका छन् । र ओलीले ‘निर्दोषलाई नफसाउन र दोषीलाई नजोगाउन’ भन्ने भाषा बोल्दै आइरहेका छन् ।

‘षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिंड्दाहिंड्दै समाउनुपर्ने ? त्यस्तो खालको रहस्यपूर्ण छ, भागेर कतै गइहाल्ने मान्छे त होइन, अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’ ओलीले गत बिहीबार प्रचण्डसँग भेटेर सिंहदरबारबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग भनेका थिए ।

‘प्रहरीले रायमाझीलाई खोजी रहेको छ, राजनीतिक वृत्तबाट एउटा खालको दबाब छ, प्रहरीले सबैतर्फ ध्यान दिँदै आफ्नो अनुसन्धान अघि बढाइरहेको छ,’ प्रहरी स्रोत भन्छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले प्रहरीले राजनीतिक पाटोलाई नभएर कानुनले दिएको अधिकारलाई प्रयोग गरेर अनुसन्धान गर्ने बताए ।

‘राजनीतिक पाटो एउटा छ, अनुसन्धानको पाटो अर्कै छ, प्रहरी आफ्नो ट्र्याकभन्दा बाहिर जाँदैन, कानुनले दिएको अधिकार प्रयोग गरेर प्रहरी अघि बढ्छ,’ केन्द्रीय प्रहरी प्रवक्ता कडायतले राजधानीसँग भने ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका एसएसपी डा. मनोज केसीले प्रहरीले रायमाझीलाई खोजी गरिरहेको बताए ।
हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा आठ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे सबैभन्दा उच्च तहका छन् । प्रहरीले गत बुधबार उनलाई पक्राउ गरेको थियो । उनी बुधबारसम्म नै उपराष्ट्रपति कार्यालयमा सचिवको जिम्मेवारीमा थिए । उनीमाथि भुटानी शरणार्थीको सक्कल फाइल गिरोहलाई उपलब्ध गराएको आरोप छ । पाण्डे २७ साउन २०७८ सालदेखि २ असोज २०७९ सम्म गृहसचिव थिए ।

सोही प्रकरणमा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि हिरासतमा छन् । उनी गत मंगलबार पक्राउ परेका थिए । तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार राईले तत्कालिन गृहमन्त्री थापा र गृह सचिवलाईसमेत मिलाउनुपर्ने भन्दै पीडितबाट ५ करोड आर्थिक लाभ लिएको बयानबाट खुलेको अनुसन्धनमा संलग्न अधिकृतहरू बताउँछन् ।
गृहमन्त्रीका रूपमा थापाले १४ फागुन २०७४ देखि ६ जेठ २०७८ सम्म गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यस समय उनी नेकपा माओवादी केन्द्रमा थिए भने हाल थापा नेकपा एमालेको उपाध्यक्षको भूमिकामा छन् । त्यस समय गृहसचिवमा प्रेमकुमार राई र महेश्वर न्यौपाने थिए । त्यसपछि पाण्डे सचिव बनेका थिए ।

प्रहरीले सोही प्रकरणमा मुछिएका केशव दुलाल, सानु भण्डारी र कुमार गुरुङलाई गत १२ चैतमा पक्राउ गरेको थियो भने सन्देश शर्मा र सागर राईलाई १५ चैतमा पक्राउ परेका थिए ।

प्रहरीले रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि गत बुधबार साँझ नै बुटवलबाट पक्राउ गरिसकेको छ । यस्तै, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राईविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी गर्दै आइरहेको छ । यस्तै पूर्वगृहमन्त्री थापाका छोला प्रतीक थापा पनि प्रहरीको खोजीमा छन् ।

नक्कली शरणार्थी बनाएर ठगेको घटना’bout काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १८ जेठ २०७९ मा पहिलोपटक उजुरी परेको थियो । यस्तै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै ठगी गरेको थाहापाएपछि पीडीतले मंसिर २०७८ मा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका आरोपीविरुद्ध संगठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले नक्कली शरणार्थी बनाउने धन्दामा जोडिएका अन्य १०/११ जना व्यक्ति प्रहरीको निगरानीमा रहेको र पक्राउ परेकाको बयानका आधारमा थप व्यक्तिको संलग्नता खुल्ने बताउँदै आइरहेका छन् ।

भुटानी शरणार्थी प्रमाणीकरणका लागि छुटेका व्यक्तिको विवरण तयार गर्ने क्रममा प्रतिवेदन बनाउँदै गर्दा राजनीतिक शक्तिका आडमा गिरोहले नक्कली शरणार्थी खडा गरेर करोडौं ठगी गरेको खुलेको थियो ।

तत्कालीन ओली नेतृत्वको सरकारले वैशाख २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विवरणमा आउन छुटेका शरणार्थीको विवरण थप गर्ने प्रक्रियाका लागि कार्यदल गठन गरेको थियो । सो कार्यदलको प्रतिवेदनको अनुसूचीमा नाम थपेर अमेरिका पठाइदिने भन्दै गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङलगायतका जिल्लाका व्यक्तिसँग १ अर्बभन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन भने हालसम्म सार्वजनिक भएको छैन ।
काठमाडौं प्रहरीका अनुसार शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै प्रहरीमा उजुरी गर्नेको संख्या २ सय पुगेको छ । प्रहरीका अनुसार ती पीडितबाट २१ वटा जाहेरी परेको छ । एक जाहेरीमा ६० जनासम्मको उजुरी परेको प्रहरीले जनाएको छ ।

ठगीको घटना’bout काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १८ जेठ २०७९ मा पहिलोपटक उजुरी परेको थियो ।

कहाँ हराए टोपपबहादुर रायमाझी ?

एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता भएको खुलेको छ । रायमाझीसँग बुधबार साँझ आफ्नो कुरा भएको ओलीले बिहीबार बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डसँग सिंहरदबारमा बिहीबार भेटेका ओलले सो जानकारी दिएका हुन् । ओलीले सञ्चारकर्मीसँग भनेका थिए, ‘मैले उहाँ (रायमाझी)सँग बुधबार बेलुकी कुरा गरेको थिएँ । तपाईंलाई पक्राउ पुर्जी भनेको सुन्छु केही जानकारी छ ? उहाँले मैले आईजीपीलाई कुरा गरेको छु भन्नुभयो । एकपटक स्पष्ट पारिदिनुपर्छ भन्नुभयो ।’

फोनमा रायमाझीले ओलीलाई आफू काठमाडौं आउन लागेको पनि बताएका थिए । उनले भने, ‘म काठमाडौं आउँदै छु भन्नुभएको थियो, काठमाडौं आउँछु भनेको मान्छेलाई कोही समात्यो भन्छन्, कोही फरार भन्छन्, के हो थाहा छैन ।’

एमाले अध्यक्ष ओलीलाई ‘काठमाडौं आउँदै छु’ भनेका रायमाझी कहाँ गए भन्ने अहिलेसम्म खुलेको छैन । रायमाझीविरुद्ध बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि रायमाझीलाई प्रहरीले खोजी तीव्र पारेको छ ।

नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । घटनामा आफ्नो पनि नाम जोडिएप्रति अचम्ममा परेको बताउँदै उनले कानुनअनुसार अनुन्धानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कानुनलाई सघाउँछु भनेका उनै रायमाझी बुधबार रातिदेखि नै सम्पर्कविहीन छन् । उनको फोनसमेत स्विच अफ रहेको प्रहरीकोले जनाएको छ । उनको अन्तिम लोकेसन भैरहवामा ट्र्याक भएको प्रहरीले जनाएको छ ।

राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *