काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा विदेशी लगानीको १ सय ३१ वटा उद्योगलाई स्वीकृति दिंदा स्वदेशी लगानीका लागि १४ वटालाई मात्र स्वीकृति दिएको छ । संख्यामा स्वदेशी लगानीको लागि स्वीकृति कम भए पनि पुँजी लगानी प्रस्ताव भने नेपाली लगानीकर्ताको नै बढी छ ।

उद्योग विभागका अनुसार ६ महिनामा १७ अर्ब ३० करोडको लगानीका लागि विदेशी लगानीकर्ताले प्रस्ताव पेस गरेका छन् भने स्वदेशी लगानीकर्ताको प्रस्ताव भने १ खर्ब २२ अर्बको छ ।

गत वर्ष विदेशी लगानीकर्ताले ६ महिनामा ३० अर्ब ५६ करोड रुपैयाँ प्रस्ताव गरेको थियो । गतवर्ष स्वदेशी लगानीका लागि १ खर्ब ४४ अर्बको प्रस्ताव आएको थियो । गतवर्षको तुलनामा चालू आवमा लगानी प्रस्ताव पनि घटेको छ भने स्वीकृत उद्योगको संख्या पनि घटेको छ ।

गत वर्ष कुल १ सय ५५ वटा उद्योगलाई विभागले स्वीकृति दिँदा विदेशी लगानीका लागि १ सय २९ वटालाई स्वीकृति दिएको थियो ।

विभागका अनुसार विदेशीबाट यस वर्ष ठूला उद्योगमा दुईवटा प्रस्ताव आएको छ भने मझौला उद्योगमा १९ वटा प्रस्ताव र साना उद्योगमा ११० वटा प्रस्ताव आएको छ । गतवर्ष ठूला २, मभ्mयौला ३७ र साना ९० वटालाई स्वीकृति दिइएको थियो ।

स्वदेशी र विदेशी लगानी प्रस्तावको स्वीकृतिको आधारमा यस वर्ष ३९ वटा ठूला उद्योगले स्वीकृति पाएको छ । गत वर्ष यो संख्या ४६ थियो । यसैगरी गत वर्ष ५७ वटाले मझौला उद्योगले स्वीकृति पाएकोमा यस वर्ष ४१ वटाले मात्र पाएको छ ।

यसैगरी, साना उद्योगमा भने यस वर्ष ६५ वटाले सञ्चालन स्वीकृति पाएको छ । गतवर्ष यो संख्या ५२ मात्र थियो । विभागका अनुसार विदेशी लगानी स्वीकृति गर्दा ७ हजार ८ सय ४१ जनालाई रोजगारी प्रस्तावित गरिएको छ ।

समग्र उद्योग स्वीकृतिबाट ९ हजार ८ सय १६ जनालाई रोजगारी प्राप्त हुने देखिएको उद्योग मन्त्रालयले जनाएको छ । गत वर्ष १ खर्ब ९० अर्ब लगानीका साथ १ सय ५५ वटाले उद्योग दर्ता प्रस्ताव गर्दा १४ हजार २ सय ५२ जनाले रोजगारी प्राप्त गर्ने प्रस्ताव गरिएको थियो ।

उद्योग विभागका अनुसार गत वर्षको तुलनामा यो वर्ष लगानी, उद्योग संख्या र प्रस्तावित रोजगारी संख्या घटेको छ । उद्योग विभागका अनुसार यसपालि एउटा प्याटेन्ट दर्ता भएको छ । गतवर्ष कुनै पनि प्याटेन्ट दर्ता भएको थिएन ।

गत वर्ष १३ वटा डिजाइन दर्ता भएकोमा यसपालि ८ वटा डिजाइन दर्ता भएका छन् । यसैगरी गत वर्षको साउनदेखि पुससम्ममा १ हजार ६ सय ३४ वटा ट्रेडमार्क दर्ता भएकोमा यसपालि १ हजार ५ सय ५१ वटा ट्रेडमार्क दर्ता भएका छन् । उद्योग विभागले हालसम्ममा ५७ हजार ५ सय ६६ वटा ट्रेडमार्क दर्ता भएको पनि जानकारी दिएको छ । विभागका अनुसार प्याटेन्ट दर्ता भने हालसम्ममा कुल ८१ वटा भएका छन् ।

विभागले सुरुदेखि हालसम्ममा कुल ८ हजार ९ सय ९ वटा उद्योग दर्ताका लागि स्वदेशी र विदेशीलाई स्वीकृति दिइसकेको छ । विभागका अनुसार स्वीकृति दिएको आधारमा २७ खर्ब ६६ अर्बको लगानी स्वीकृति भइसकेको छ । विदेशी लगानीको लागि मात्र सुरुदेखि हालसम्ममा ४ खर्ब ३६ अर्बको लगानीका साथ ५ हजार ६ सय ६४ वटा विदेशी लगानीको उद्योगलाई स्वीकृति दिइसकेको छ ।

राजधानी दैनिक बाट