इटहरी । प्रदेश १ को नामकरण कोसी राखिएको भन्दै आइतबार प्रदेशभर बन्द गरिएको छ । विभिन्न जातीय पहिचानसहित कोसी प्रदेशको पुनः नामाकरण गर्न माग राख्दै आह्वान गरेको आम हड्तालका कारण बन्द भएको हो ।

कोसी प्रदेशका सबैजसो जिल्लामा बन्दका कारण आंशिक प्रभाव परेको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बन्दका कारण बिहानीपख सबै जिल्लामा सवारी साधनहरू सञ्चालन नभएपनि दिउँसोबाट जनजीवन सामान्य बनेको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधव काफ्लेका अनुसार लामो तथा छोटो दुरीका सवारी साधनहरू नचल्दा बिहानीपख जनजीवन प्रभावित बन्यो ।

६ लेन सडकमै दुवैतर्फ बन्द गरिदाँ लामो बाटो भएर आउने सवारी साधनहरू गन्तव्यमा पुग्न नपाउँदा यात्रुहरूको विचल्ली भएको थियो ।
यसैबीच झापाको विभिन्न स्थानबाट प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएर साँझतिर छाडेको जिल्ला प्रहरी झापा प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरीले बिर्तामोड, काँकडभिट्टा, दमक, चारआली लगायतका स्थानबाट बन्दकर्तालाई पक्राउ गरेको थियो ।
इटहरी २० का राजु श्रेष्ठले तरहरामा बन्दको प्रभाव कहिल्यै नपरेको भएपनि आइतबार भने बन्द हुँदा स्थानीय जनजीवन प्रभावित बनेको बताए ।

‘ठूला–ठूला नेपाल बन्दमा कहिल्यै बन्द नभएको तरहरामा आज बन्द हुँदा समस्या भएको छ,’ उनले भने, ‘सरकारले नामकरण राख्दा जनताले सास्ती पाउनुपर्ने अवस्था छ, जातीयताको राजनीति बन्द गरौँ भनेर हामीले आवाज उठाइरहेका छौँ ।’

विगतमा पार्टीको राजनीति गर्नेहरू अहिले जातीयताको राजनीति गर्दै बन्द गराउन सक्रिय रहेको उनले बताए । आँफूहरूले बन्द अस्वीकार गर्ने स्थानीयबासीको भनाइ छ । गत फागुन १७ गते बसेको प्रदेशसभा बैठकबाट प्रदेश १ को नामकरण कोसी प्रदेश राख्ने निर्णय गरेसँगै पहिचान पक्षधरहरू असन्तुष्ट छन् ।

राजधानी दैनिक बाट