काठमाडौं । अहिले पनि गठबन्धन भित्रको पहिलो ठूलो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमालेबाट विभाजित भएको दल एकीकृत समाजवादी र त्यसका नेताहरुलाई रुचाउँदैनन् । खासै भाउ नै दिदैछनन् र गठबन्धनको शक्ति भागबण्डामा पेल्ने रणनीति बनाउँछन् । प्रधानमन्त्री प्रचण्ड ओलीको अडानका अघि माधवकुमार नेपालप्रति सद्भाव भएपनि केही गर्न सक्दैनन् ।  यो अवस्था कुनै एक घटनामा मात्रै केन्द्रीत छैन । एकीकृत समाजवादीका नेताहरु यस्ता आधा दर्जन उदाहरण दिन्छन् । परिणामस्वरुप सो पार्टी सुदुरपश्चिममा विद्रोहको अवस्थामा पुगेको छ । समाजवादी सुदूरपश्चिम प्रदेशको नयाँ सरकार गठनमा बिद्रोही नागरिक उन्मुक्ति पार्टीका मुख्यमन्त्रीका उम्मेदवारको पक्षमा नेपाली काँग्रेसँगै जोडिन पुगेपछि गठबन्धन भित्र भईंचालो जाने अवस्था सृजना भएको छ ।  कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ मा राजीनामा दिएपछि प्रदेश प्रमुख नाजिर मियाँले नयाँ सरकार गठनका लागि १० दिनको समय दिएका थिए । संविधानको धारा १६८ को २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले वैशाख २ गतेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।   सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा सत्ता गठबन्धन सम्बद्ध एकीकृत समाजवादीले कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गर्‍यो । कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थन जुटाएर नाउपाका रशेम चौधरी पक्षीय लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा एमाले र माओवादी केन्द्रको समर्थन लिएर नाउपाको रञ्जिता श्रेष्ठ पक्षीय कैलाश चौधरीले पनि मुख्यमन्त्री दाबी पेस गरे ।  लक्ष्मणकिशोरलाई कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नाउपाको ७ र राप्रपाका १ गरी ३० सांसदको समर्थन छ । यता नाउपाकै कैलाशलाई एमालेका १०, माओवादी केन्द्रका १० र नाउपाका ६ र स्वतन्त्र सांसद तारा जोशीको समर्थन छ । प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दुई दाबी परेकोले आवश्यक परेको खण्डमा सांसदहरूको सनाखत गराउने सङ्केत गरेका छन् । कानुनी परामर्श लिने प्रदेश प्रमुख मियाँको तयारीले मुख्यमन्त्री नियुक्त हुन केही समय लाग्ने देखिएको छ ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नाउपाभित्रको समस्याले सुदूरपश्चिममा सरकार अन्योलजस्तो देखिए पनि केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार मुख्यमन्त्री नियुक्त हुने बताए ।  यता एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व सहमतिबाट ब्याक हुँदा सुदूरपश्चिममा नयाँ समीकरण बनेको बताए । सुदूरपश्चिममा देखिएको यस्तो अवस्था अन्य प्रदेश र संघमा पनि देखिएमा राजनीतिमा नयँ अवस्था सृजना हुने देखिएको छ ।  प्रदेश सरकार निर्माणमा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा लिएको नीति कायम राखे मधेस र बागमती प्रदेश सरकार धरापमा पर्न सक्नेछन् ।