धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूपश्चिम प्रदेशमा आफ्नै आफ्नै नेतृत्वो लीनेगरी गृहकार्यलाई तीव्रता दिएको छ । केन्द्रमा रहेको नयाँ सत्ता समीकरण घटक दलको समर्थनमा नयाँ  सरकार निर्माणको गृहकार्य तीव्रता दिएको हो । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले घनश्याम चौधरीलाई हटाएर संसदीय दलको नेतामा सांसद कैलाश चौधरीलाई तोकेयता उनी आफ्नो नेतृत्वमा सरकार गठनको तयारीमा जुटेका छन् । आफ्नो नेतृत्वको विषयमा गठबन्धन घटक दलमा कुनै दुबिधा नरहेको बताउँदै कैलाश चौधरीले आज सरकारको प्रारम्भिक खाका ल्याउने र भोलि वैशाख १ गते प्रदेश प्रमुख कहाँ दाबी पेस गर्ने जानकारी दिए । जसको लागि सत्ता गठबन्धन घटक दल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायत शीर्ष नेतृत्वका साथै यहाँका सभामुख भीमबहादुर भण्डारीसँग छलफल भएको चौधरीले रातोपाटीलाई बताए । यहाँ एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने शीर्ष नेतृत्वबिच यसअघि एकखाले समझदारी बनेको थियो । फलतः पहिलो चरणमा आफ्नो नेतृत्वमा सरकार बनाउने र त्यसपछि समाजवादीलाई सत्ता हस्तान्तरण गर्ने विश्वास नाउपाले दिलाएको छ । नेपाली कांग्रेसका कमल बहादुर शाह नेतृत्वको सरकार चैत्र २२ गते ढलेपछि प्रदेश प्रमुख नजिर मियाँले १० दिन ९वैशाख २ गते०भित्र संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको लागि आह्वान गरेका छन् । यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको र  हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ । नयाँ सत्ता गठबन्धन घटक दल माओवादीको १० (सभामुख बाहेक), एमालेको १०, एकीकृत समाजवादीको ४ र नाउपाको ६ मध्ये ३ र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गर्ने नाउपाको तयारी छ ।