टेरामक्स खरिदमा भ्रष्टाचारः पक्राउ पर्न सक्छन् संचारमन्त्री बस्नेत र कार्की !
![](https://agnijwala.com/wp-content/uploads/2024/02/basnet_karki2024-02-02-08-41-33.jpeg)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला संचार तथा सुचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत र पूर्व अर्थ तथा संचारमन्त्री ज्ञानेन्द्र बहादर कार्कीलाई पनि बयानमा बोलाएको छ। तर उनीहरु बयानमा जानु भन्दापनि विभिन्न बाहाना बनाएर कहिले जिल्लामा बस्ने त कहिले भारतीय सीमा क्षेत्रतिर अलमल्लिने गरिरहेका छन् । बस्नेत लामो समय निर्वाचन क्षेत्र भन्दै सिन्धुपाल्चोक जिल्लातिर अल्मिल्लिए भने कार्की सुनसरीको भारतीय सीमा क्षेत्रतिर पार्टी कामको नाममा बसे । सम्भावित पक्राउको अवस्था टार्न उनीहरु त्यसरी तर्किएर हिडेको हुनसक्ने कतिपयको अनुमान छ । अनुसन्धानमा सहजिकरण गर्न आलटाल गरेमा अख्तियारको टिमले उनीहरुलाई पक्राउ गर्न सक्ने स्रोतको दावी छ । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘टेरामक्स’ प्रविधि खरिद प्रकरणमा मुछिएका उनीहरुलाई अख्तियारले बयानका लागि ताकेता गरिरहेको भए पनि विभिन्न कारण जनाउँदै उनी उपस्थित हुन पन्छिएको अख्तियार स्रोतले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘टेरामक्स’ प्रविधि खरिद प्रकरणमा अख्तियारले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बयानका लागि बोलाएको हो। दुवै कांग्रेस नेता हुन्। बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ र कार्की सुनसरी–४ बाट निर्वाचित सांसद हुन्। अख्तियारले भने यो मुद्दामा छानबिनको अधिकांश काम सकेर अदालतमा मुद्दा लैजाने तयारी अन्तिम चरणमा पुर्याएको छ। सञ्चारमन्त्री रहेका बखत बस्नेतले टेरामक्स प्रणाली खरिदको प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गरेका थिए । यो अवधिमा मन्त्रालयका सचिव रहेका महेन्द्रमान गुरुङलाई पनि अनुसन्धानको घेरामा राखेर बयान लिइसकिएको छ । मन्त्रीको नीतिगत निर्णयमा टेकेर नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाले सञ्चालक समितिबाट निर्णय गराएर प्रक्रिया अघि बढाएका थिए । टेरामक्स खरिद प्रक्रियामा राजनीतिक व्यक्तिहरूबाहेक सञ्चार मन्त्रालयका तत्कालीन सचिव अर्याल (हाल मुख्य सचिव), सञ्चार मन्त्रालयका तत्कालीन सहसचिव विनोदप्रकाश सिंह (हाल सचिव सामान्य प्रशासन मन्त्रालय), उपसचिव मुकुन्द शर्मा, शाखा अधिकृत दुर्गा लम्साल, प्राधिकरणका अध्यक्ष खनाल, उपनिर्देशक अच्युतानन्द मिश्रलगायत मुछिएका छन्। याे प्रविधिले दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि, भ्वाइस तथा डेटा सर्भिसको गुणस्तर मापन, अनुगमन र भ्वाइस, डेटाको कुल भोल्युम परीक्षण गर्ने एक खालको प्रविधि हो । यस प्रविधिले of] ट्राफिक व्यवस्थापन तथा अनुगमन, नेटवर्किङ मनिटरिङ र अवैध गतिविधिको व्यवस्थापनको काम गर्छ । टेरामक्सले अपरेटले घोषणा गरेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भ्वाइस कल र एसएमएसको कुल भोल्युमको परीक्षण गर्छ । अपरेटरले पहिचान गर्न नसकेको कल र एसएमएसलाई पूर्ण रूपमा नियन्त्रण गर्छ । यसले युरोपियन टेलिकम्युनिकेसन स्ट्यान्डर्ड इन्स्टिच्युट तथा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियनले निर्धारण गरेअनुसार सेवाको गुणस्तर पनि परीक्षण गर्छ । अपरेटरको नेटवर्क रेगुलर गाइडअनुसार भए–नभएको पनि परीक्षण गर्छ । कल बाइपासलगायत टेलिकममा हुने विभिन्न खाले अवैध गतिविधिलाई नियन्त्रण गर्छ । अपरेटर अथवा भिओआइपी कल बाइपासलगायतका अवैध गतिविधिबाट हुने अर्बौंको क्षतिलाई न्यूनीकरण गरी राजस्व वृद्धि गर्न मद्दत गर्छ ।
![](https://i0.wp.com/agnijwala.com/wp-content/uploads/2024/02/1200x100.gif?fit=1200%2C100&ssl=1)