नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कुल एक अर्ब ५० करोड रुपैयाँसम्मको ऐतिहासिक आर्थिक कारोबार हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार स्पोन्सर, टिकटिङ र अधिकारबाट ७५ करोडसम्मको कारोबार हुनेछ।

टिमहरूले पनि त्यही हाराहारीमा कारोबार गर्ने र यस वर्षको कुल कारोबार डेढ अर्ब रुपैयाँसम्म पुग्ने क्यानका कोषाध्यक्ष पदम खड्काले बताए। सोमबारदेखि सुरु हुने प्रतियोगिताको च्याम्पियन बन्ने टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत कोषाध्यक्ष खड्काले पुरस्कार राशीबारे जानकारी गराएका हुन्। उनका अनुसार प्रतियोगिताको उपविजेताले ८० लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

यस्तै चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ। आठ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्।

उद्घाटन खेल सोमबार बेलुका पाँच बजे हुनेछ। यसअघि पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेका थिए।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम तय गरिएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटनका लागि प्रधानमन्त्री शाहलाई निमन्त्रणा गरिएको जानकारी दिएका छन्।

प्रतियोगिताका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी लगभग पूरा भएको क्यानले जनाएको छ। खेलप्रेमीहरूका लागि यस पटकको संस्करण थप रोचक हुने अपेक्षा गरिएको छ।