मुलुकको भौतिक पूर्वाधारको इतिहासमा ‘सुरुङ युगको प्रस्थानविन्दु’ मानिएको नागढुङ्गा सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि सोमबारदेखि सञ्चालनमा आउँदै छ। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का केन्द्रीय अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
सुरुङमार्ग सुरुमा आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिनेछ। अन्य सवारीसाधनलाई भने चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने योजना रहेको छ।
उद्घाटन भएको दिनदेखि नै सुरुङमार्गबाट सबै सवारीसाधन सञ्चालनमा आउन नसक्ने र तीन महिनासम्म परीक्षणकाल सञ्चालन हुने आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले बताए। केही दिनसम्म एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्गबाट आवतजावत गर्न दिइने उनले जानकारी दिए।
निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग हस्तान्तरण गरिसकेकाले अब सम्पूर्ण जिम्मेवारी आयोजनाको काँधमा आएको छ।
सम्झौता अनुसार ४२ महिनामा सम्पन्न हुनुपर्ने यो आयोजना निर्माण सुरु भएको ८० महिनामा सम्पन्न भएको हो। आयोजना सम्पन्न गर्न कुल २५ अर्ब रुपियाँ खर्च भएको उपनिर्देशक पन्थीले बताए।
निर्माणमा १७ अर्ब, डलरको भाउ वृद्धि र निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा २ अर्ब तथा जग्गा मुआब्जामा ६ अर्ब रुपियाँ खर्च भएको छ। यसमा १९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋण र मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारको रहेको छ। आयोजनाका लागि कुल ४ सय ८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।
यस आयोजना अन्तर्गत मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर लामो छ भने आपत्कालीन उद्धारका लागि २ हजार ५ सय ५० मिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ। सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनको प्रकार हेरेर ६० देखि ६ सय रुपियाँसम्म शुल्क तिर्नुपर्ने निर्णय मन्त्रीपरिषद्ले गरिसकेको छ।


