ओलिले कोशीको मुख्यमन्त्रीबाट विश्वास पात्र कार्की हटाउनको कारण के हो ?

विराटनगर । काेशी प्रदेशमा नेकपा एमालेले आफ्नै मुख्यमन्त्री हटाएर नयाँ नियुक्त गर्ने तयारी गरेकाे छ । केन्द्रमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको नयाँ सत्ता सहकार्यको सहमतिले कोशी प्रदेशको मुख्यमन्त्री फेर्ने बाटाे खुलेकाे छ। सहमतिअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने निश्चित भएपछि अब सबैको नजर एउटै प्रश्नमा केन्द्रित भएको छ– मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने कि एमालेभित्रबाटै नयाँ अनुहारले नेतृत्व सम्हाल्ने ? तर पछिल्ला दिनहरुमा कार्की र एमाले अध्यक्ष केपी ओलीबीचकाे सम्बन्धमा चिसाेपन आएकाे छ । कार्की ओलीकै निर्वाचन क्षेत्रका भएपनि आन्तरिक राजनीतिमा विद्या भण्डीकाे पक्षमा लागेकाे आराेप छ । जसका कारण ओली चिढिएका हुन् । पूर्वप्रधानमन्त्रीहरु एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भएको सहमतिले प्रदेश सरकारहरूको स्वरूप परिवर्तन हुने आधार तयार गरेको छ। सहमतिअनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिमको नेतृत्व पाउनेछ। मधेश र गण्डकी प्रदेशमा भने अन्य दलसँगको छलफलपछि सरकारको नेतृत्व र सहभागिता टुंग्याइने सहमति भएको छ। अब मुख्यमन्त्री रहेका एमाले प्रदेश संसदीय दलका नेता तथा पार्टीका केन्द्रीय सचिव हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने वा प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई जिम्मेवारी दिने भन्ने विषयमा एमालेभित्र छलफल सुरु हुने भएको छ। ताप्लेजुङबाट निर्वाचित मेन्याङ्बो प्रदेश संसदीय दलमा कार्कीपछि दोस्रो वरीयताका नेता हुन्। पछिल्लो बजेट निर्माणका क्रममा उनले कार्की नेतृत्वको सरकारप्रति असन्तुष्ट सांसदहरूको नेतृत्व गरेका थिए। एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रमेश बस्नेतका अनुसार नेकपासँगको सहमतिपछि कोशी सरकारको नेतृत्व एमालेले गर्ने विषय निश्चित भइसकेको छ। तर, नेतृत्व कसले गर्ने भन्ने निर्णय पार्टीको आन्तरिक प्रक्रिया र केन्द्रको निर्णयबाट हुने उनले बताए। ‘नयाँ राजनीतिक परिस्थितिमा नेतृत्वका आकांक्षी देखिनु स्वाभाविक हो। प्रदेश समितिको सिफारिसपछि केन्द्रले अन्तिम निर्णय गर्छ,’ बस्नेतले भने। उनले मुख्यमन्त्री चयनका विषयमा एमालेभित्र कुनै विवाद नरहेको दाबी गर्दै अन्तिम निर्णय सहमतिमै हुने बताए। यता एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सार्वजनिक रूपमा केन्द्रको निर्णय नै अन्तिम हुने बताएका छन्। तर, उनी मुख्यमन्त्री परिवर्तनभन्दा केही मन्त्री हेरफेर गरेर हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा रहेको स्रोतले बतायो। यदि कोशी सरकारको नेतृत्व नेकपाले पाएको भए संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्रीका मुख्य दाबेदार थिए। तर, केन्द्रको नयाँ सहमतिले त्यो सम्भावना समाप्त भएको छ। अब केन्द्रको नयाँ सत्ता समीकरण प्रदेशमा कार्यान्वयनमा आएपछि कोशी प्रदेशमा दशौँ पटक सरकार गठन हुनेछ। दोस्रो प्रदेशसभा कार्यकालमै यो सातौँ सरकार हुनेछ। तर, सरकारको नेतृत्वमा फेरि हिक्मतकुमार कार्की नै दोहोरिने कि तिलकुमार मेन्याङ्बो उदाउने भन्ने विषय अहिले पेचिलो बनेको छ।

