एमालेमा दुवै पक्ष ओलीसंग वाक्क , ओली फाल्ने कि भण्डारी रोक्ने ?


काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेमा अन्तरकलह चुलिंदो छ । एमालेको पत्रकार संगठन प्रेस चौतारिका अधिवेशन, अनेरास्ववियु र युवा संघको नेतृत्व छनोटका लागि भएको चुनावसम्म पुग्दा एमालेमा दुई गुट प्रष्ट भिडन्तमा उभिएका छन् । अध्यक्ष केपी ओलीले एमालेमा कुनै गुटको अस्तित्व छैन भन्दै गर्दा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी महाधिवेशनबाट पार्टी अध्यक्षसहित सक्रिय राजनीतिमा फर्कने तयारी गरिरहेकी छन् । यसबीचमा उनले स्वदेश तथा विदेशकोसमेत भ्रमण गरेर कार्यकर्ताको मन बुझ्ने प्रयास गरिन् । भण्डारी पक्षका एक एमाले नेता भन्छन्,‘यी भ्रमणबाट उहाँ हौसिनुभएको छ । सबैतिरका एमाले नेता कार्यकर्ताले पार्टीको हितका लागि उहाँलाई आइदिन आग्रह गरेका छन् ।’ यस्तो सन्देश पाएपछि भण्डारीले असार ३ गते साँझ प्रधानमन्त्री ओलीलाई भेटेरै पार्टी अध्यक्षका लागि सक्रिय राजनीतिमा फर्कन चाहेको र सहयोग गर्न आग्रह गरेकी थिइन् । तर यी दुई शीर्ष नेता समझदारीमा पुगेका छैनन् । जबाफमा ओलीले भण्डारीलाई पार्टीमा फर्कने कुरा नसोच्न भनेका थिए। उनिहरुले आगामी विधान महाधिवेशनलाई निर्णायक संघर्षको बिन्दु बनाएका छन् । एमालेमा अहिले पनि विधानमा यस अघि व्यवस्था रहेको ७० वर्षे उमेरहद्को विषय बहसमा छ । ७० वर्षे उमेर हद र दुई कार्यकाल भन्दा बढि पार्टीको मूल नेतृत्वमा हुन नपाउने व्यवस्था हुने हो भने अहिलेका अध्यक्ष केपी ओली स्वत बिदा हुनेछन् । विद्या भण्डारी पक्ष यही गर्न खोजिरहेको छ । अहिले विभिन्न पार्टीहरुसँगको एकताका लागि भने निलम्बन गरिएको उमेरहद र दुई कार्यकालको व्यवस्था सधैंका लागि लागू गर्ने पक्षमा ओली पक्षीय नेताहरु लागेका छन् । महासचिव शंकर पोखरेलले त भण्डारीलाई रोक्नकै लागि उमेरहदको कार्यकालको विषय खारेज गर्नेगरी प्रस्ताव गरेका छन् । ओली पक्षले भण्डारीको पार्टी सदस्यता नवीकरणको प्रक्रिया नै गलत भएको भन्दै रोकिदिएको छ । बिहीबारको सचिवालय बैठकमा महासचिव पोखरेलले भनेका विषय उद्धृत गर्दै ती सदस्यले भने, ‘अहिले गणतन्त्रप्रति सबै तिरबाट प्रहार भइरहेको छ। गणतन्त्र अफ्ठयारोमा परिरहेको छ। यहीबेला पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेको छ। यसले गणतन्त्रलाई झनै कमजोर पार्छ।’ पोखरेलले विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई एमाले राजनीतिमा आउन रोक्नु पर्ने बताएको एक सदस्यले बताए । पोखरेलले यस्तो प्रस्ताव अघि सारेपछि उपाध्यक्ष पाण्डेले बिमति प्रकट गरेका थिए। अब भदौमा हुने विधान महाधिवेशनमा यो विषयमा निकै रस्साकस्सी हुने नेताहरू बताउँछन्। भोलि असार १४ गते नेपाल राष्ट्रियसभामा ७४औँ मदन जयन्ती मनाइँदै छ। कार्यक्रमका प्रमुख अतिथि ओली छन् भने भण्डारीलाई विशिष्ट अतिथि बनाइएको छ। यो कार्यक्रममा यी दुई नेताले कस्तो विचार व्यक्त गर्दछन् भन्ने कुरा एमाले बृत्तमा चासोको विषय बनेको छ ।