भारतकले भन्यो : ईपीजी प्रतिवेदनकाे औचित्य सकियो, बालेन सरकार किन माैन ?

काठमाडौँ । भारतले प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन्स ग्रुप (ईपीजी) को प्रतिवेदनलाई विगतको विषय भन्दै त्यसको औचित्यलाई खारेज गरिदिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलगत्तै भारतीय विदेश सचिव विक्रम मिस्रीले ईपीजी प्रतिवेदनलाई विगतको विषय भन्दै अहिले सान्दर्भिक नभएको टिप्पणी गरेका हुन् । ईपीजीको प्रतिवेदन तयार भएदेखि भारत सरकार त्यसप्रति कहिल्यै सकारात्मक थिएन । प्रतिवेदन बुझ्न नमानेर मात्रै होइन, सरकारी अधिकारीहरूले विगतमा दिँदै आएको औपचारिक धारणाबाट पनि त्यो स्पष्ट हुन्थ्यो । तर, मिस्रीको पछिल्लो प्रतिक्रियाले ईपीजीको सान्दर्भिकता नै सकिएको भारतले स्पष्ट सन्देश दिएको छ । ईपीजी प्रतिवेदनका सन्दर्भमा पत्रकारद्वारा सोधिएको प्रश्नमा मिस्रीको जवाफ थियो– ‘यो विगतको विषय भयो । हामी यस विषयमा भविष्यकेन्द्रित दृष्टिकोण अपनाउन चाहन्छौं । त्यो प्रतिवेदन अहिले सान्दर्भिक छैन । हामी विगततर्फ हेरिरहेका छैनौं । भविष्यतर्फ हेरिरहेका छौं ।’ प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त दृष्टिकोणले नेपाल–भारतबीचको आगामी यात्रालाई निर्दिष्ट गर्ने मिस्रीको भनाइ थियो । ‘दुई देशबीचको सम्बन्धका लागि संयुक्त दृष्टिकोण समग्र रूपमा व्यापक र विस्तृत दृष्टिकोण हो,’ उनले भनेका छन्, ‘हामीले संयुक्त दृष्टिकोणमार्फत भविष्यकेन्द्रित, रचनात्मक र प्रगितिशील सम्बन्धको दृष्टिकोणलाई आधार मानेका छौं ।’ ईपीजीमा नेपालका तर्फबाट सदस्य भएर काम गरिसकेका भारतका लागि पूर्वनेपाली राजदूत नीलाम्बर आचार्य ईपीजी भारतले मात्रै गठन गरेको नभई द्विपक्षीय सहमतिका आधारमा भएको बताउँछन् । द्विपक्षीय विषयलाई भारतले एकतर्फी रूपमा अस्वीकार गर्ने, खारेज गरिएको वा औचित्यहीन भएको भन्न नमिल्ने उनको टिप्पणी छ । ‘ईपीजी पुरानो भयो, यसको औचित्य सकियो भन्नु सरासर गलत हो । दुईतर्फी विषयलाई एकतर्फी ढंगले औचित्यहीन भनिदिनु अहंकारको अभिव्यक्ति हो,’ उनले कान्तिपुरसँग भने, ‘दुवै सरकारको सहमतिमा गठन भएको ईपीजीले दुई देशको सम्बन्धको समीक्षा गरेर २१ औं शताब्दी अनुकूल कसरी जाने भनेर विभिन्न उपायसहितको सिफारिस गरेको छ । त्यसलाई औचित्यहीन भन्नु बेठीक कुरा हो ।’ नेपाल सरकारका तर्फबाट यस विषयमा औपचारिक प्रतिक्रिया आउनुपर्ने उनले उल्लेख गरे । भारतको अनिच्छालाई बुझेर हुनुपर्छ, नेपालले पनि ईपीजीको मुद्दालाई यस पटक उठाएको देखिएन । त्यसले दुवै पक्ष ईपीजीलाई थन्क्याएर अगाडि बढ्न खोजेको संकेत दिएको छ । ईपीजी प्रतिवेदनले गरिसकेको कामलाई अर्को ढाँचाबाट पुनः अगाडि बढाउने तयारी दुई पक्षको देखिन्छ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ७ मंसिरमा भएको द्विपक्षीय वार्तापछि ‘विकसित भारत र समुन्नत नेपाल’ को नारा दिएर जारी संयुक्त साझेदारी दस्ताबेजले त्यस्तो संकेत गरेको छ । ‘सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौताहरू पारस्परिक सहमतिको आधारमा समीक्षा गर्न सकिन्छ,’ साझेदारी पत्रको बुँदा नम्बर ४ मा छ । मुख्य रूपमा १९५० को सन्धि पुनरावलोकन गर्न जिम्मेवारी पाएरै ईपीजीे गठन भएको थियो । शान्ति मैत्री सन्धिको पुनरावलोकनको विषय नेपालले लामो समय उठाउँदै आएको छ । त्यसैलाई सम्बोधन गर्न दुई देश सहमत भएर ईपीजी गठन गर्ने निर्णयमा पुगेका थिए । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा गएका बेला ६ कात्तिक २०६८ मै १९५० को सन्धि पुनरावलोकनका लागि प्रबुद्ध व्यक्ति समूह बनाउने सहमति भएको थियो । भट्टराई र भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबीच भएको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा शान्ति तथा मैत्री सन्धि एवं अन्य सम्झौता पुनरावलोकन, परिमार्जन र अद्यावधिक गर्न सहमत भएको उल्लेख छ । २०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबीच ईपीजी गठनको प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । दुवै सरकारको सहमतिमा २०७२ माघमा प्रबुद्ध समूह (ईपीजी) घोषणा गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीको कार्यकालमा गठन भएको ईपीजीमा नेपालपक्षीय संयोजक भेषबहादुर थापा तथा भारततर्फबाट त्यहाँको सत्तारूढ दल भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी संयोजक तोकिएका थिए । त्यसमा नेपालका तर्फबाट नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय तथा राजन भट्टराई सदस्य थिए । त्यस्तै भारतका तर्फबाट जयन्त प्रसाद, महेन्द्र पी.लामा तथा बीसी उप्रेती थिए । दुवै देशका प्रबुद्ध व्यक्तिहरू सम्मिलित ८ सदस्यीय उक्त समूहले पाएको म्यान्डेटअनुसार २०७५ असारमा आफ्नो प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनमा १९५० को शान्ति मैत्री सन्धिको नयाँ मस्यौदा नै प्रस्ताव गरिएको छ । सबै सदस्यको सहमतिमा तयार भएको प्रतिवेदन ८ वर्षदेखि प्रयोजनविहीन अवस्थामा छ । भारत सरकारले प्रतिवेदन बुझ्न नमानेपछि अलपत्र परेको हो । प्रतिवेदन तयार गर्दा नेपाल पक्ष हाबी हुन पुगेको बुझाई भारतीय संस्थापन पक्षमा रहँदै आएको छ । जसका कारण ईपीजी प्रतिवेदनका बारेमा भारतको विदेश मन्त्रालयले कहिल्यै सकारात्मक चर्चा गर्न रुचाएन । बरु ईपीजीलाई छाडेर १९५० को सन्धि पुनरावलोकनका लागि अन्य कूटनीतिक बाटो रोज्नुपर्ने सन्देश नेपाललाई पठाउँदै आएको नाम नबताउने सर्तमा नेपालका एक कूटनीतिज्ञले बताए । ‘त्यसमा भारत यस पटक सफल भएको देखिन्छ । नेपालले ईपीजीको चर्चा नै गरेन । अर्कोतिर १९५० को सन्धि पुनरावलोकन पारस्परिक छलफल र संवादबाट गरिने विषयलाई साझेदारी पत्रमा राखेर त्यसका लागि अब नयाँ बाटो रोजिने संकेत दिइएको छ,’ उनले भने, ‘भारतीय विदेशमन्त्री मिस्रीको भनाइले पनि त्यो स्पष्ट पारेको छ ।’ ईपीजीमा सदस्य भएर काम गरेका परराष्ट्र मामिलाका जानकार एमाले नेता राजन भट्टराई यसबारे नेपाल सरकारले जवाफ दिनुपर्ने बताउँछन् । ‘दुई देशका प्रधानमन्त्री तहमा भएको सहमतिबाट बनेको ईपीजीलाई भारतले ‘पास्ट’ भन्छ भने आज भएका सहमतिलाई भोलि मान्छ, गर्दिन्छ भनेर विश्वास कसरी गर्ने ?’ उनी प्रश्न गर्छन्, ‘द्विपक्षीय सम्झौताका आधारमा गठन भएको र त्यसले सहमतिका आधारमा तयार गरेको प्रतिवेदनको सान्दर्भिकता सकियो भनेर भारतले घोषणा गर्नु नै गलत हो । उहाँहरूले एकपक्षीय रूपमा गरेको घोषणाका सन्दर्भमा नेपालले आफ्नो धारणा दिनुपर्छ ।’ प्रतिवेदनले दुई देशबीच रहेका सबैजसो विवादास्पद विषयलाई सम्बोधन पनि गरेको उनले बताए ।

