संयुक्त राज्य अमेरिकाले बाढीबाट प्रभावित नेपालको पुनः स्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर (करिब ४ अर्ब १० करोड रुपैयाँ) सहयोग उपलब्ध गराउने भएको छ।
न्युयोर्कमा मङ्गलबार अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकर र परराष्ट्रमन्त्री शिशिर खनालबीच भएको भेटवार्तामा उक्त सहयोगको घोषणा गरिएको हो। भेटका क्रममा उपविदेशमन्त्री हुकरले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूप्रति गहिरो समवेदना व्यक्त गरिन्।
उनले बाढीमा परी हालसम्म सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति पनि सहानुभूति व्यक्त गरेकी छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा स्थायी पुल निर्माणका लागि अमेरिकी संसद्सँग समन्वय गरी थप १० मिलियन डलर (करिब १ अर्ब ३० करोड रुपैयाँ) उपलब्ध गराइने हुकरले बताइन्।
अमेरिकी कम्पनीमार्फत निर्माण गरिने ती पुलले क्षतिग्रस्त महत्त्वपूर्ण यातायात पूर्वाधार पुनः स्थापना गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
यसैबीच मङ्गलबार नै अमेरिकी वाणिज्य मण्डलका प्रमुख अन्तर्राष्ट्रिय मामिला अधिकारी डा. जोसुवा वाकरले पनि परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेका छन्।
उक्त भेटमा नेपाल र अमेरिकाबीच आर्थिक सहकार्य विस्तार गर्ने तथा व्यावसायिक साझेदारी सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


