रास्वपाले एक पक्षीय रुपमा सहमति तोडेकाले अब १६५ क्षेत्रमा उम्मेदवार उठाउँछौं

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पुस १४ गते भएको सहमति राष्ट्रिय स्वतन्त्र पार्टीले एकपक्षीय रुपमा तोडेको आरोप लगाएको छ । १२ दिनमै रवि लामिछाने र बालेन्द्र शाहबीचमा भएका सहमति तोड्दै उज्यालो नेपाल पार्टी सक्रिय गराउँदै उज्यालो नेपाल पार्टीले यस्तो आरोप लगाएको हो । याे अवधिमा अघि बढ्न पनि नसकेकाे र पछि हट्न पनि सक्ने अवस्था नभएकाले जवरजस्ती बाहिरिन बाध्य पारिएकाे उनले बताए । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले सहमति कार्यान्वयन गराउने विषयमा आफूहरु अन्तिम समयसम्म प्रयासरत रहे पनि रास्वपाले एकपक्षीय रुपमा सहमति भंग भएको घोषणा गरेको उल्लेख गरे । उनले समानुपातिक सूची दर्ता गर्ने अन्तिम क्षणमा जेनजीका युवा सुदन गुरुङ लगायतका कारण सहमति गरेकाे तर रास्वपाले सहमति पालना नगरेकाे उनले बताए । अब उज्यालाे नेपाल पार्टीले देशका सबै १६५ क्षेत्रमा उम्मेदवार उठाउने उनले बताए । घिसिङका अनुसार एकताका क्रममा धेरै अलिखित सहमतिहरू भएका थिए र आफूहरूको कुनै ठुलो माग थिएन, केवल सहमति कार्यान्वयन गर्दै जाने इच्छा थियो । मिडियामा आएका पदको बार्गेनिङ गरेको भन्ने कुरा सरासर गलत भएको उनले दाबी गरे । ‘हामीले सहमतिको चरणमा र हाम्रा साथीहरूको ठुलो डिमान्ड पनि राखेका थिएनन्,’ घिसिङले भने, ‘मिडियामा पदको बार्गेनिङ गर्यौँ भन्ने कुरा सरासर गलत हो । म उपाध्यक्ष भए पनि वरीयता क्रममा धेरै तल भए पनि सहेर गएको थिएँ । म साधारण रास्वपाको सदस्य भएर । यो विषय ठुलो पनि थिएन ।’ उनले मुख्य मुद्दाका रूपमा समावेशी र संघीयतासँग सम्बन्धित संविधानले देखाएका विषयमा रास्वपा सुरुमा सहमत भए पनि पछि त्यसबाट पछि हटेको गुनासो गरे । चुनावी प्रक्रियामा कसरी जाने भन्नेमा लामो छलफल भए पनि रास्वपाले १२ दिन लामो समय लिएको र समानुपातिकतर्फ पनि निर्णय गर्न ढिलाइ गरेको घिसिङले बताए । ‘हामीले सबै त्यागेर अगाडि बढ्नुस् भनेर छाडेका थियौँ,’ उनले भने, ‘यो १२ दिनको लामो समयले उज्यालो नेपाललाई धेरै क्षति पुग्यो ।’

