पार्टी फुट्न लागिसक्याे देउवा किन मौन ?

काठमाडौं । वैशाखमा नियमित महाधिवेशन कि २७–२८ पुसमा विशेष महाधिवेशन भन्ने विषय कांग्रेसको आन्तरिक शक्ति परीक्षणतर्फ प्रवेश गरेको छ । संस्थापन पक्ष र महामन्त्रीद्वयबिचका आ–आफ्ना तयारी, अडान र पार्टीभित्र प्रभाव विस्तार गर्ने प्रतिस्पर्धाले कांग्रेसभित्रको शक्ति परीक्षण चुनावपूर्व सहमतिसहित एकीकृत पार्टीमै टुंगिने हो कि विभाजनतर्फ धकेलिने हो भन्नेमा अनिश्चितता बढाएको छ । नियमित वा विशेष महाधिवेशनको मुद्दाले पार्टीको तल्लो तहसम्म कठोर गुटबन्दी सुरु गरिसके पनि दुवै पक्षको औपचारिक भनाइ भने एउटै छ, ‘पार्टी विभाजन हुँदैन ।’ विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आह्वानमा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार र सोमबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुँदै छ । पक्षधरहरूले महाधिवेशनको भौतिक र राजनीतिक तयारी अन्तिम चरणमा पुर्याइसकेका छन् । महाधिवेशन रोक्न संस्थापन पक्षले गरेको प्रयास सफल हुन सकेन भने दुवै पक्षबिच सार्थक संवाद पनि हुन सकेको छैन । विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू जिल्ला–जिल्लाबाट काठमाडौं आउने क्रम सुरु भएको छ । कुल चार हजार ७२३ जना महाधिवेशन प्रतिनिधिमध्ये २६ सयभन्दा बढी प्रतिनिधिले विशेष महाधिवेशनमा सहभागी हुने जानकारी दिएको पक्षधर नेताको दाबी छ । ‘हस्ताक्षर गरेका दुई हजार ४८८ जनामध्ये पछिल्लोपटक १२५ जनाले हस्ताक्षर फिर्ता लिएका छन् । तर, २५० देखि तीन सयजना थपिएका पनि छन्,’ महामन्त्री थापानिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने । बहुमत संख्या पुगेको अवस्थामा विशेष महाधिवेशनले नियमित महाधिवेशनले गर्ने सबै कार्य गर्ने उनको भनाइ थियो । ‘बन्दसत्र सुरु भएपछि हलले कार्यविधि बनाउँछ, त्यसपछि राजनीतिक, सांगठनिक प्रतिवेदन, विधान संशोधन र अबको कार्यदिशालगायत विषयमा प्रस्ताव पेस हुन्छ । त्यसपछि नेतृत्व चयनमा प्रवेश गरिन्छ,’ शिवाकोटीले भने । विशेष महाधिवेशनको सभापतित्व काठमाडौं कांग्रेसका सभापतिले गर्ने तय भएको छ । ‘शनिबारसम्म विशेष महाधिवेशनको एजेन्डा र तयारी केन्द्रीय समितिले स्वामित्व ग्रहण नगरे समारोहको प्रमुख अतिथि भइदिन अनुरोध गर्दै शनिबारै सभापति देउवाकहाँ चिठी पुग्छ,’ शिवाकोटीले भने । भृकुटीमण्डपको सभाका लागि एउटा इभेन्ट कम्पनीलाई जिम्मा दिइसकिएको छ । विशेष महाधिवेशनको आर्थिक पाटोको लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले समन्वय गरेका छन् । सहमतिका लागि चरणबद्ध छलफल भए पनि शुक्रबार साँझसम्म निष्कर्षमा पुग्न नसकेको शिवाकोटीले बताए । सभापति देउवाले यसबिचमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छैनन् । उनले महामन्त्रीद्वयसँग छलफलका लागि कार्यवाहक सभापति खड्का र रमेश लेखकलाई जिम्मा लगाएका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने कार्यवाहक सभापतिले सबैसँग छलफल गरिरहेको बताए । ‘सभापतिले कुरा गरेर वा उहाँसँग कुरा भएर अहिले सहमति निस्कने सम्भावना छैन, किनभने महामन्त्रीहरू आफ्नो अडानबाट पछि हट्नुभएको छैन,’ महतले भने । कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले पूर्वघोषित रणनीतिक योजनाअनुसार विशेष महाधिवेशनको परिस्थिति बनाएको संस्थापन पक्षको विश्लेषण छ । महतले सहमतिका लागि धेरै प्रयास भइरहेको, तर महामन्त्रीद्वयको जिद्दीका कारण सहमति नभएको आरोप लगाए । २७–२८ पुसमा संस्थापनका दुई कार्यक्रम महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएकै दिन संस्थापनले पनि कार्यक्रम तय गरेको छ । संस्थापन पक्षका युवाले २७ पुसमा काठमाडौंमा भेला बोलाएका छन् । यस्तै, २८ पुसमा संस्थापन पक्षनिकट जिल्ला सभापतिहरूको भेला काठमाडौंमा आह्वान गरिएको छ । शुक्रबारै संस्थापन पक्षनिकटका नेताहरू कृष्णप्रसाद सिटौला, एनपी साउद, बालकृष्ण खाण, रामहरि खतिवडा, नैनसिंह महरलगायतको बैठक बसेको थियो । खतिवडाले विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा रूपान्तरण गर्न महामन्त्रीद्वयलाई तयार गराउन सकिएमा कार्यक्रममा कार्यवाहक सभापतति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला सहभागी हुन सक्ने र पार्टी फुटबाट जोगिन सक्ने बताए । सिटौला, साउद, खाणलगायतले भने विशेष महाधिवेशनलाई स्वीकार गर्न नसकिने र उनीहरू पछि हट्नुपर्ने धारणा राखेका थिए । संस्थापनको तयारीलाई महामन्त्री विश्वप्रकाश शर्माले अन्यथा लिन नहुने प्रतिक्रिया दिए । ‘२७ गते एउटाले बर्थडे मनाउँदै गर्दा अर्काको बिहे हुन सक्छ,’ उनले भने, ‘कसैको लोकतान्त्रिक हकका बारेमा अनादर गर्न जरुरी छैन ।’ ३० केन्द्रीय सदस्यको अपिल : संस्थापनका नेताहरूको बेग्लै बैठक २१ फागुनको निर्वाचनपूर्व नियमित महाधिवेशन हुनुपर्ने पक्षमा आवाज उठाउँदै आएका संस्थापननिकट ३० केन्द्रीय सदस्यले शुक्रबार विज्ञप्ति जारी गरी विशेष महाधिवेशन मागकर्ताको मतको सम्मान गर्न र संवादका आधारमा अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् । केन्द्रीय सदस्य राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, आङगेलु शेर्पा, उदयशमशेर राणा, गणेश लामा, डिला संग्रौला, नानु बास्तोला, धना खतिवडा, अब्दुल रजाक, कर्णबहादुर बुढा, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, मोहन आचार्य, अमृत अर्याल, रामजनम चौधरी, जिपछिरिङ लामा, चम्पादेवी कार्की, चिनकाजी श्रेष्ठलगायतले विज्ञप्ति जारी गरेका छन् । ‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ । अत: माग गर्ने प्रतिनिधिको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौँ,’ उनीहरूको अपिलमा भनिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग यसबिचमा संवाद गरेका छैनन् । देउवाले १८ पुसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, पार्टीका आफूनिकटस्थ पूर्वपदाधिकारी विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नेताहरू रमेश लेखक, एनपी साउद, बालकृष्ण खाणसँग भेटिरहेका छन् । तर, केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अस्वीकार गर्दै विशेष महाधिवेशनका पक्षमा उभिएका महामन्त्रीद्वय थापा र शर्मासँग संवादको पहल गरेनन् । देउवाले विशेष महाधिवेशनबाट पार्टी फुट्ने भन्दै यसलाई रोक्नुपर्ने बताउँदै आएका छन् । देउवाले शुक्रबार मात्रै नेपाल विद्यार्थी संघका संस्थापनपक्षीय एक दर्जन नेतालाई निवासमा बोलाएर भेटेका थिए । जहाँ देउवाले पार्टी फुट्दैन, म मिलाउँछु भनेका थिए । यसबिचमा देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेतासँग भेट गरे, तर महामन्त्रीद्वय थापा र शर्मा एवं विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको अगुवाइ गरेका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसेलगायतसँग भेट गरेनन् । नयाँ पत्रिकाबाट

