किन ट्रम्प दक्षिण अमेरिकी देश कब्जा गर्ने तयारीमा छन् ?

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले क्युबाका नेताहरूलाई चेतावनी दिँदै भने, “भेनेजुएलाका राष्ट्रपतिलाई गिरफ्तार गरेपछि यदि म क्युबाको सरकारमा हुँदो हुँ भनेर कल्पना गरेँ भने, मलाई निश्चित रूपमा चिन्ता लाग्थ्यो ।”
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, “क्युबा पूरै ध्वस्त छ । यसलाई पूर्ण रूपमा अयोग्य सरकार र एउटा वृद्ध व्यक्तिले सञ्चालन गरिरहेका छन् । यसको कुनै अर्थतन्त्र बाँकी छैन । यो पूरै ध्वस्त देश हो । मादुरोको सुरक्षामा लगाइएका सबै गार्डहरू क्युबाका थिए । क्युबाले केही विषयमा भेनेजुएलामाथि कब्जा गरेको छ । क्युबाले भेनेजुएलालाई आफ्नो उपनिवेश बनाउने प्रयास गरेको छ ।”
रुबियोले फ्लोरिडास्थित राष्ट्रपति ट्रम्पको मार–ए–लागो रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा क्युबालाई अक्षम, वृद्धावस्थाका पुरुषहरूले सञ्चालन गरेको आरोप लगाए । उनले मादुरोका गार्डहरू र भेनेजुएलाको सम्पूर्ण गुप्तचर एजेन्सीमा क्युबालीहरू भरिएका रहेको दाबी गरे र यो गरिब टापुले भेनेजुएलामाथि कब्जा गरेको बताए ।
“भेनेजुएलालीहरूको सबैभन्दा ठूलो समस्या भनेको उनीहरूले क्युबाबाट स्वतन्त्रता घोषणा गर्नुपर्ने हो,” रुबियोले थपे, “उनीहरूले मूलतः सुरक्षाको दृष्टिकोणबाट यसलाई उपनिवेश बनाउने प्रयास गरे । त्यसैले, हो, यदि म हावानामा बस्छु र सरकारमा थिएँ भने मलाई कम्तिमा अलिकति चिन्ता त लाग्थ्यो ।”
रुबियोले बोल्नुअघि ट्रम्पले आफ्नो प्रशासन राम्रा छिमेकीहरूसँग घेरिन चाहन्छ भनेका थिए । तर, क्युबा अहिले राम्रोसँग नचलिरहेको र असफल राष्ट्र भएको बताए । ट्रम्पले भने, “क्युबा एक रोचक विषय हो । क्युबाको स्थिति राम्रो छैन । क्युबाली जनताले वर्षौंदेखि कष्ट भोगिरहेका छन् । क्युबाका विषयमा हामी थप छलफल गर्नेछौँ, किनकि क्युबा एउटा असफल राष्ट्र हो । हामी क्युबाली जनतालाई सहयोग गर्न चाहन्छौँ ।”
क्युबाली अधिकारीहरूले आक्रमण र पक्राउको निन्दा गरेका छन् र यसलाई राज्य आतंकवादको कार्य भनेका छन् । क्युबाका परराष्ट्रमन्त्री ब्रुनो रोड्रिगेज प्यारिल्लाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै भेनेजुएलाविरुद्ध र यसका वैधानिक राष्ट्रपति निकोलास मादुरो मोरोस र उनकी पत्नीको अपहरण भनेका छन् । क्युबाले अमेरिकाको सैन्य आक्रमणको निन्दा गरेको छ ।
क्युबाली सरकारले रुबियोलाई प्रत्यक्ष जवाफ दिएको छैन । तर, शनिबार जारी एक वक्तव्यमा यस कदमले क्षेत्रलाई अस्थिर बनाउने चेतावनी दिएको छ । “क्षेत्रका सबै राष्ट्रहरू सतर्क रहनुपर्छ, किनकि खतरा सबैतिर मडारिरहेको छ । क्युबामा हाम्रो संघर्ष गर्ने दृढता अटल छ । निर्णय एउटै छः देश वा मृत्यु,” अधिकारीहरूले लेखेका छन् ।
अमेरिकाले शनिबार बिहान भेनेजुएलामा आक्रमण गरेको थियो, जसका क्रममा राजधानी काराकास र अन्य तीन राज्यहरूमा विस्फोटहरू भएको देखिएका थिए ।
सेनाको डेल्टा फोर्सले मादुरोको कम्पाउन्डमा प्रवेश गरी उनी र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गर्यो । ट्रम्पले मादुरो र फ्लोरेस यूएसएस जहाजमार्फत न्यूयोर्क जाँदै गरेको र त्यहाँ उनीहरूले अभियोगको सामना गर्ने बताएका छन् ।
अमेरिका र क्युबाबीचको सम्बन्ध दशकौँदेखि तनावपूर्ण छ । दुवै देशबीचको तनाव १९६० को दशकदेखि सुरु भएको हो, जब फिदेल कास्ट्रोको सरकारसँग अमेरिकाको सम्बन्ध बिग्रियो र अमेरिकाले क्युबामाथि कडा आर्थिक प्रतिबन्ध लगायो । बराक ओबामाको कार्यकालमा दुवै देशबीच सम्बन्ध सुधार्ने प्रयास भएको थियो, तर ट्रम्प र बाइडेन सरकारका समयमा पुनः सम्बन्ध तनावपूर्ण बनेका छन् ।

