हङकङमा अस्ताए नेपालको पहिलो ओलम्पियन बक्सर नामसिंह थापा

नेपालका पहिलो पुस्ताका ओलम्पियन नामसिहं थापा मगरको हङकङमा निधन भएको छ। बक्सिङ खेलाडी थापाको ७९ वर्षको उमेरमा निधन भएको हो।


नेपालका पहिलो पुस्ताका ओलम्पियन नामसिहं थापा मगरको हङकङमा निधन भएको छ। बक्सिङ खेलाडी थापाको ७९ वर्षको उमेरमा निधन भएको हो।
थापाको शनिबार निधन भएको नेपाल ओलम्पियन्स एसोसिएसनले जनाएको छ। एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ।
स्वर्गीय थापाले ओलम्पिकमा आफूले लगाएको ब्लेजर नेपाल ओलम्पियन्स संघमार्फत ओलम्पिक सङ्ग्रहालयलाई हस्तान्तरण गरेका थिए।
नेपालले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाउँदा बक्सर थापासहित भिमबहादुर गुरुङ, रामप्रसाद गुरुङ, ओमप्रसाद पुन तथा धावकद्वय भूपेन्द्र सिलवाल र गंगाबहादुर थापाले नेपालको प्रतिनिधित्व गरेका थिए।
समाजसेवी एमबी थापा मगरका अनुसार करिब दुई महिना अगाडि दाहिने खुट्टामा चोट लागेर उपचार गराइरहेका उनी कुङतुङनजिकै एक अस्पतालमा शनिबार निधन भएको हो।
सन १९४६ मा स्याङ्जामा जन्मिएका थापाले १९६४ को टोकियो समर ओलम्पिकमा बक्सिङमार्फत नेपालको प्रतिनिधित्व गर्दै भाग लिएका थिए। यो नेपालको लागि प्रथम ऐतिहासिक सहभागिता थियो।
२७ वर्ष लामो बेलायती सेनामा सेवा गरी क्याप्टेनसम्मको पदोन्नति लिएर सेवा निवृत्त भएका थापा हङकङको कुङतुङमा छोरीज्वाइँसँग बस्दै आएका थिए।
