विराटनगरसँग सुदूरपश्चिमले लियाे बदला, ७७ रनकाे फराकिलाे जित

काठमाडौं । एनपीएल पहिलाे प्लेअफमा सुदूरपश्चिमले विराटनगरसँग बदला लिएकाे । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर एक बलमा ७८ रनमा समेटियो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । उनलाई अन्य ब्याटरले साथ दिन सकेनन् । साम हिजलेट ०, मार्टिन गुप्टिल २, नरेन भट्ट ०, बसिर अहमद १२, लोकेश बम ५, नारायण जोशी १, मार्चन्ट डि लिङ १५, कप्तान सन्दीप लामिछाने ३ र प्रतिश जिसी ३ रनमा आउट भए । बलिङमा सुदूरपश्चिमका हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेन दुई-दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक-एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । विनोदले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मुख्तार अहमद १०, शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, कप्तान दीपेन्द्रसिंह ऐरी ३, हर्मित सिंह १४ रनमा आउट भए । स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे । बलिङमा विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुईदुई तथा सूर्य तामाङ र साम हिटलेटले एकएक विकेट लिए । सुदूरपश्चिमले लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सिजनमा सुदूरपश्चिम फाइलनमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । सुदूरपश्चिमले अब उपाधिका लागि शनिवार खेल्नेछ । पराजित भएको विराटनरले दोस्रो क्वालिफायरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग खेल्नेछ ।

