नेपाल बैंकर्स एसोसिएसनको बुधबार सम्पन्न साधारणसभाले कार्यकारिणी समितिका रिक्त पदमा चारजना नयाँ सदस्य चयन गरेको छ । जसमध्ये एक जनाको कार्यकाल थप गरिएको छ भने तीनजना नयाँ सदस्य निर्वाचित भएका छन् । प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव मानन्धर दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ । त्यसैगरी नबिल बैंकका सीईओ मनोज ज्ञवाली, नेपाल एसबीआई बैंकका सीईओ रामकुमार तिवारी र लक्ष्मी सनराइज बैंकका सीईओ अजयविक्रम शाह नयाँ सदस्यका रूपमा कार्यकारिणी समितिमा चुनिनुभएको छ ।सदस्य पद रिक्त हुनुको कारण सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे र सिद्धार्थ बैंकका सीईओ सुन्दर कँडेलको बैंकमा सीईओको कार्यकाल सकिन लागेको तथा प्रभु बैंकका सीईओको पदावधि समाप्त हुनु हो ।यसअघिको परम्परा अनुसार हरेक वर्ष बैंकिङ क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको एसोसिएसनले यस वर्ष माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष डा. उपेन्द्र महतोलाई सम्मानित गरेको छ ।