कम्युनिस्ट नेता मानिने भेनेजुएलाका राष्ट्रपति मधुरोलाई ट्रम्पले यसरी धम्काए

एजेन्सी । कम्युनिस्ट नेता मानिने भेनेजुएलाका राष्ट्रपति निकोलस मधुरोलाई अमेरिकाले अप्ठ्यारो पारेको छ। यस कुरालाई मध्यनजर गर्दै कम्युनिस्ट नजिक मानिनेविश्वका देशहरू दुई ध्रुवमा बाँडिने पक्का भएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग कुरा गरेको बताएका छन्। केही दिनअघि मदुरोसँग सिधै कुरा गर्ने इच्छा व्यक्त गरेका ट्रम्पले के कुरा भयो भन्ने चाहिँ खुलाएनन्। ‘मदुरोसँग कुरा गर्नुभयो?’ भन्ने पत्रकारको प्रश्नमा उनले कुरा गरेको बताए। तर के कुरा भयो भनेर टिप्पणी नगर्ने जनाए। ‘म कुरा राम्रो वा नराम्रो भयो भन्न चाहन्नँ,’ उनले थपे। पछिल्लो समय भेनेजुएलामा कारबाही गर्ने धम्की दिइरहेका ट्रम्पले मदुरोसँग सिधा कुरा गर्ने योजना बनाइरहेको आफ्ना सल्लाहकारहरूसँग बताएको भनेर केही दिनअघि अमेरिकी अनलाइन एक्सियसले लेखेको थियो। त्यसपछि द न्यू योर्क टाइम्सले पहिलो पटक ट्रम्पले यस महिनाको सुरूमा मदुरोसँग कुरा गरेको र दुई जनाबीच अमेरिकामा सम्भावित भेटघाटबारे छलफल भएको समाचार प्रकाशित गरेको थियो। ट्रम्पले मदुरोसँग कुरा गरेको बताए पनि अहिले उनी भेनेजुएलाबारे आक्रामक बयानबाजी गरिरहेका छन्। शनिबार मात्रै उनले भेनेजुएलाको आकाश पूर्ण रूपमा बन्द रहेको ठान्न सबै एयरलाइन्स, पाइलट तथा सरोकारवाला निकायलाई चेतावनी दिएका थिए। ट्रम्पको सो अभिव्यक्तिपछि अमेरिकाले भेनेजुएलामा हवाई हमला गर्न लागेको भनेर राजधानी कराकसमा त्रास बढेको थियो। पछिल्लो समय ट्रम्पले भेनेजुएलामा कारबाही गर्ने धम्की दिएपछि मदुरोले आफ्नो सुरक्षा व्यवस्था कडा पारेका छन्। सुरक्षा खतरा महसुस गरेर मदुरोले दुई वर्षपछि राजीनामा दिन सहमत भएको समेत भर्खरै खुलासा भएको छ। अमेरिकाले भेनेजुएला छेउछाउ व्यापक सेना परिचालन गरे पनि गोप्य रूपमा अमेरिकी अधिकारीले मदुरोसँग वार्ता पनि गरेका थिए। सोही वार्ताका क्रममा मदुरोले दुई वर्षपछि राजीनामा दिने प्रस्ताव गरेको भनेर केही दिनअघि द न्यू योर्क टाइम्सले लेखेको थियो। तर अहिले नै मदुरोले सत्ता छोड्नुपर्ने भन्दै अमेरिकाले उक्त प्रस्ताव अस्वीकार गरेको थियो। त्यसपछि ट्रम्पले भेनेजुएलामा कारबाही गर्न अमेरिकी गुप्तचर संस्था सिआइएलाई अधिकार दिएको खुलासा गरेका थिए। अमेरिकी सेनाले पछिल्ला केही महिनामा भेनेजुएलाबाट अमेरिकामा लागुऔषध ओसारपसार गरिरहेको भन्दै डुंगाहरूमा बम हानेर दर्जनौंको हत्या गरिसकेको छ। खासमा भेनेजुएलाका लागुऔषध तस्करहरूलाई कारबाही गर्न सेना परिचालन गरेको भने पनि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मदुरो सत्ताच्युत भएको हेर्न चाहेको बताउँदै आएको छ। ट्रम्पले अगस्ट महिनाको अन्त्यतिर दक्षिणी क्यारेबियन क्षेत्रमा शक्तिशाली पनडुब्बी र युद्धपोतहरू पठाएपछि उनले भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सत्ताच्युत गर्न लागेको अड्कल काटिएको छ। दक्षिणी क्यारेबियन क्षेत्रबाट भेनेजुएला एकदमै नजिक पर्छ। यति धेरै अमेरिकी–शक्ति यो क्षेत्रमा आएपछि राष्ट्रपति मदुरो आत्तिएका छन्। अमेरिकाले भेनेजुएलाका लागुऔषध तस्करमाथि प्रहार गर्न अहिले त्यति ठूलो संख्यामा सैनिक र युद्धपोतहरू पठाउनु नपर्ने भएकाले पनि मदुरो सशंकित छन्। अमेरिकाले अगस्टमै मदुरोको लागुऔषध तस्करसँग सम्बन्ध रहेको भन्दै उनलाई पक्रिन सहयोग गर्नेलाई दिइने पुरस्कार दोब्बर पारेर पाँच करोड डलर पुर्याएको थियो। दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्पले फेब्रुअरी यता नौ वटा ल्याटिन अमेरिकी लागुऔषध तस्कर समूहलाई विदेशी आतंकवादी संगठन घोषणा गरेका छन्। त्यसमध्ये दुइटा भेनेजुएलाका हुन्। तीमध्ये एउटा मदुरोको प्रत्यक्ष निर्देशनमा चल्ने अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ। यस्तो परिस्थितिमा मदुरोको सत्ता पल्टाउन ट्रम्पले ठूलो संख्यामा सेना र युद्धपोत पठाएका हुन सक्ने विश्लेषण गरिएको छ। सेना र युद्धपोत देखेर मदुरो डरले देश छाडेर भागून् भन्ने मनसाय पनि उनको हुन सक्छ। मदुरो देश छाडेर नभाग्ने देखेपछि अहिले उनलाई डर देखाउन भेनेजुएलाभित्रै हमला गर्न सिआइएलाई अनुमति दिएको ट्रम्पले खुलासा गरेका हुन सक्छन्। अमेरिकाले विगतमा त्यस्तो कदम चालेकाले पनि मदुरोलाई सशंकित पार्नेछ। सन् १९८९ मा, राष्ट्रपति जर्ज एच डब्लु बुसका पालामा पानामाका तत्कालीन सैनिक शासक जनरल मानुएल नोरिएगालाई सत्ताच्युत गर्न अमेरिकाले पानामामाथि आक्रमण गरेको थियो। अहिले मदुरोलाई जस्तै नोरिएगालाई पनि अमेरिकामा लागुपदार्थ पैठारी र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको थियो। त्यस्तै, तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको पालामा क्युबाका फिडेल क्यास्ट्रोको सत्ता पल्टाउन सन् १९६१ मा सिआइएले क्यास्ट्रोलाई सत्ताच्युत गर्न बे अफ पिग्समा आक्रमण गरेको थियो। केनेडीले अमेरिकाको संलग्नता नदेखियोस् भनेकाले त्यहाँ सिआइएले अमेरिकी सेना नपठाई प्रवासमा रहेका क्युबाका जनता परिचालन गरेको थियो। तर सो आक्रमण विफल भयो, क्यास्ट्रो झन् धेरै शक्तिशाली भए र त्यसपछि आधा शताब्दी क्युबामा शासन गरे।

