
काठमाडौं । उज्यालो नेपाल अभियान हुँदै उज्यालो नेपाल पार्टी नै बनाएका मन्त्री कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव उठ्ने भएका छन् । रामेछापमा जन्मिएका भएपनि उनको काठमाडौंको बसोबास भएको क्षेत्रमा उनले मतदाता नामावली सारिसकेका छन् । नामावली पनि यतै सारिसकेकाले कुलमान काठमाडौं ३ बाटै आगामी फागुन २१ को चुनावमा प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्ने उज्यालो नेपाल पार्टीका नेता जितराम लामाले जानकारी दिए । निर्वाचन आयोगमा मनोनय दर्ता गर्नु अघिसम्म कुलमान मन्त्री बन्ने र मनोनय दर्ता गरेपछि चुनावी अभियानका लागि मन्त्रीबाट राजीनामा दिने तयारी रहेको पनि लामाले बताएका छन् । नेपाल विद्युत प्राधिकरणको प्रमुख हुँदा तत्कालनि प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्रीमा जनार्दन शर्मा थिए । प्रचण्डले नै कुलमानलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख बनाएका हुन् । त्यसपछि नेपालमा लोडसेडिङ अन्त्य गर्न भूमिका खेलेका कुलमान त्यहि शक्तिका आधारमा उज्यालो नेपाल अभियान चलाउँदै उज्यालो पार्टी गठनसम्म पुगेका हुन् । उनको पार्टीको अध्यक्ष हाल पूर्व सचिव अनुप उपाध्यायले सम्हालेका छन् । कुलमान राजनीतिमा फर्किएपछि उनैले नेतृत्व गर्ने लामाले बताए ।

