सभापति शेरबहादुर देउवाले पदत्याग नगर्ने, बरु आगामी (चौधौँ) महाधिवेशनमा पनि सभापति पदमा उम्मेदवारी दिने सम्भावना बढ्दै गएपछि नेपाली काङ्ग्रेसभित्र ध्रुवीकरण शुरु भएको छ । शेरबहादुर देउवाको नेतृत्वमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरू डा. नारायण खड्का, बालकृष्ण खाण, विश्वप्रकाश शर्मा र गोपालमान श्रेष्ठलगायत एकताबद्ध हुँदै आएका छन् भने देउवासँग असहमत पक्षका नेताहरूमा एकताको अभाव देखिन्थ्यो ।

महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरू प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले एक–अर्कालाई नेता स्वीकार नगरेको स्थितिले अर्को महाधिवेशनमा पनि देउवा या देउवाले तोकेकै व्यक्ति सभापति बन्ने सम्भावना बढाउँदै थियो । तर, पछिल्लो समयमा देउवाका विपक्षी नेताहरूबीच एकताको वातावरण बनेको छ । हाल कायम एकता महाधिवेशनसम्म जीवित राख्न सकेमा काङ्ग्रेसले सभापतिका रूपमा नयाँ नेतालाई पाउन सक्ने सम्भावना बढेको छ ।
देउवाले आफ्नो उत्तराधिकारीका रूपमा पत्नी आरजु राणालाई बनाउने आन्तरिक तयारी गरेको भए पनि गत संसदीय निर्वाचनमा पराजित (कैलालीबाट) भएपछि उनको इच्छामा ठेस लागेको छ । श्रीमती हुँदै आफ्नो छोरा जयवीरसम्म पार्टीको नेतृत्व पुऱ्याउने योजनामा रहेका देउवा आरजुको पराजयपछि अर्को एकपटक आफैँ पार्टी सभापति बन्ने र त्यसपछि छोरालाई नेतृत्व हस्तान्तरण गर्ने सोचमा रहेको निकटवर्तीहरूको भनाइ छ । यद्यपि देउवाको टिममा देउवालाई नेता माने पनि उनकी पत्नी, छोरा या खास मित्र विमलेन्द्र निधिलाई देउवाको उत्तराधिकारी स्वीकार्य हुने स्थिति देखिएको छैन । यही यथार्थलाई आत्मसात् गरेर हुनुपर्छ देउवा अर्को एउटा कार्यकालका लागि पनि पार्टी सभापतिको भूमिका निर्वाह गर्न अग्रसर भएका छन् ।अर्कोतिर सभापति बन्ने लाइनमा आधा दर्जन नेताहरू देखिएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह, वर्तमान महामन्त्री डा. शशाङ्क कोइराला र तेह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेका कृष्णप्रसाद सिटौला सभापति पद प्राप्तिका लागि अग्रसर रहने निश्चित मानिएको छ । डा. रामशरण महत, अर्जुननरसिंह केसी र डा. शेखर कोइरालाले पनि आउँदो महाधिवेशनमा सभापतिकै उम्मेदवार बन्ने मानसिकता बनाएको देखिन्छ । तेह्रौँ महाधिवेशनमा पराजित नेता रामचन्द्र पौडेलले पनि ‘चौधौँ’मा उम्मेदवार बन्न पाउने आशा मारिसकेका छैनन् । यीबाहेक कान्छा नेता गगन थापाचाहिँ नेताहरूलाई लडाएर सभापति पद हात पार्ने दाउ हेर्दै छन् भने अर्को लोकप्रिय नेता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिने या सभापति नै ताक्ने सम्भावना छ । विश्वप्रकाश शर्माले ठूलो महत्वाकाङ्क्षा नराखेर महामन्त्रीमै उम्मेदवारी दिएछन् भने पनि गगन थापाचाहिँ सभापति नै बन्ने गरी तयारीमा लागेका छन् ।

काङ्ग्रेसभित्र कम्तीमा नौदेखि दशजना नेताहरू सभापति बन्ने लाइनमा छन् । पुराना पुस्ताका नेताहरूमध्ये प्रतिस्पर्धा हुँदा देउवालाई टक्कर दिन प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. रामशरण महत र डा. शशाङ्क कोइरालामध्ये जो–कसैले पनि सक्ने देखिन्छ । तर, रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई अघि सारिएमा भने त्यसको लाभ देउवालाई नै प्राप्त हुने अवस्था छ ।

यस आधारमा हेर्दा काङ्ग्रेसभित्र कम्तीमा नौदेखि दशजना नेताहरू सभापति बन्ने लाइनमा छन् । पुराना पुस्ताका नेताहरूमध्ये प्रतिस्पर्धा हुँदा देउवालाई टक्कर दिन प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. रामशरण महत र डा. शशाङ्क कोइरालामध्ये जो–कसैले पनि सक्ने देखिन्छ । तर, रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई अघि सारिएमा भने त्यसको लाभ देउवालाई नै प्राप्त हुने अवस्था छ । देउवाविरोधी टिमका नेताहरू एकताबद्ध नभएको स्थितिमा देउवाले नै सजिलै ‘बाजी मार्ने’ स्थिति अहिलेसम्म कायम छ । पुराना पुस्ताका नेताहरू सभापतिको प्रतिस्पर्धामा उत्रिएमा गगन थापाले ‘चोरी हान्ने’ र उनले नै सर्वाधिक मत प्राप्त गर्ने सम्भावना रहेको छ । त्यस्तो अवस्थामा काङ्ग्रेसका सबै पुराना नेताहरू एकसाथ बढारिने सम्भावनालाई नकार्न सकिने स्थिति छैन ।

नेपाली काङ्ग्रेस वरीयताप्रति सचेत पार्टी मानिन्छ र वरीयताको क्रमभङ्ग गर्न गगन अघि सरेमा शेरबहादुर देउवा र शशाङ्क कोइरालादेखि डा. शेखर कोइराला र डा. रामशरण महतसम्मका सबै नेताहरू ‘एक’ हुने सम्भावनालाई पनि इन्कार गर्न सकिँदैन । गगन सभापतिको उम्मेदवार बनेको अवस्थामा पुराना नेतामध्ये अर्जुननरसिंह केसीबाहेक अन्यले गगनलाई साथ दिने सम्भावना न्यून छ । आगामी महाधिवेशनमा गगनको वेगलाई चिर्न बाँकी सबै नेताहरू एकजुट हुनुपर्ने या हिन्दूराष्ट्रसहित बीपी कोइरालाको लाइन लिएर प्रतिस्पर्धामा उत्रनुपर्ने अवस्था बनिसकेको छ । हिन्दूराष्ट्रसहित बीपीका एजेण्डा नबोक्ने र एकताबद्ध नरहने हो भने चौधौँ महाधिवेशनपछि काङ्ग्रेस नेतृत्वमा पुराना अनुहार नरहने निश्चित मानिन्छ । र, नयाँ युवाहरू नेतृत्वमा आएपछि बीपीका एजेण्डा पनि काङ्ग्रेसमा कहिल्यै नब्युँतिने देखिन्छ ।

हालसम्म हिन्दूराष्ट्र र बीपी विचारको पक्षमा डा. शेखर कोइराला र डा. शशाङ्क कोइरालाले आफ्नो अभिमत जाहेर गर्दै आएका छन् । उल्लिखित वैचारिक एवम् सैद्धान्तिक मुद्दामा प्रकाशमान सिंहको पनि भिन्न मत नहुने अनुमान पार्टीभित्र गरिएको छ । गणेशमान सिंहपुत्र प्रकाशमान र बीपीपुत्र डा. शशाङ्क कोइरालाका बीचमा समझदारी बन्न सक्यो भने त्यसमा डा. रामशरण महत, डा. शेखर कोइराला, कृष्ण सिटौला र रामचन्द्र पौडेलको पनि विमति रहने ठानिएको छैन ।

जे होस्, काङ्ग्रेसको चौधौँ महाधिवेशन अनेकौँ दृष्टिले रोमाञ्चक हुने देखिएको छ । र, उक्त महाधिवेशनलाई लक्षित गरेर काङ्ग्रेसभित्र अहिलेदेखि नै रणनीतिक चालबाजी शुरु भइसकेको छ । चौधौँ महधिवेशनपछि काङ्ग्रेस या त बीपी कोइरालाको लाइनमा, या युवा नेतृत्वमा जाने सम्भावना प्रबल भएको छ ।