चितवन, १३ असार । सूचना प्रविधि विषयमा स्नातक पढ्न चाहने व्यक्तिको लागि कम्प्युटर एशोसिएशन महासंघ (क्यान)ले यस वर्षदेखि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

सूचना प्रविधि विषयमा अध्ययन गराउँदै आएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनसँगको सहकार्यमा क्यान महासंघले गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्ति कार्यक्रम सुरू गरेको हो । क्यानले फाउन्डेसनसँगको सहकार्यमा क्यानले प्रत्येक प्रदेशबाट सात जनाको दरले ४९ जना विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गर्न लागेको बुधाबार नारायणगढमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । सात वटा प्रदेशदबाट एक जनाका दरले सात जनालाई पूर्ण छात्रवृत्ति दुई जनाका दरले १४ जना लाई ६० प्रतिशत छात्रवृत्ति र चार जनाको दरले २८ जनालाई ३० प्रतिशत छात्रवृत्ति दिन लागिएको क्यान महासंघ प्रदेश नम्बर ३ का उपाध्यक्ष विनोद पौडेलले जानकारी दिनुभयो ।
क्यान नेशनल आइसीटी स्कलरसीप अन्तर्गत विद्यार्थीहरुले एक करोड ८३ लाख ३६ हजार पाँचसय रूपैयाँ बराबरको छात्रवृत्ति पाउने लर्डबुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष पंकज जलानले जानकारी दिनुभयो । छात्रवृत्ति अवेदनका लागि क्यानको जिल्ला शाखा मार्फत फर्म खुला गरिएको उल्लेख गर्दै पौडेलले उक्त फर्म अनलाइनबाट समेत भर्ने व्यवस्था गरिएको बताउनुभयो ।
छात्रवृत्तिका लागि नेपाल सरकारबाट मान्यताप्राप्त शैक्षिक संस्थाबाट ५० प्रतिशत अंक सहित प्लसटु अर्थात सो सरह अध्ययन गरेका विद्यार्थीहरु तथा कक्षा १० को गणित बिषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका र सिटिइभिटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।