ठाउँ–ठाउँमा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक खण्ड आज पनि अबरुद्ध बनेको छ।

पहिरोले विहान साढे ६ बजेदेखि सडक अबरुद्ध हुँदा हजारौँ यात्रुहरुले सास्ती पाएका छन्। यसअघि सोमबार र मंगलबार पनि यो सडक खण्ड अबरुद्ध भएको थियो।

मंगलबार बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ११ घण्टा लागेको थियो। आज विहान चार किलो र कालिखोला भन्ने ठाउँमा यस अघिको भन्दा ठूलो पहिरो खसेको चितवन प्रहरीले जनाएको छ।

पहिरो ठूलो भएकाले तत्कालै पन्छाएर यातायात सञ्चालन गर्ने अबस्था नरहेको चितवनका ट्राफिक प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

पहिरो हटाउन कम्तिमा १० बजेसम्म समय लाग्ने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ।

ट्रफिक प्रहरीले वैकल्पिक मार्ग अपनाउन यात्रुहरुलाई अपिल गरेको छ। दिनहुँ पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक खण्ड जोखिमपूर्ण बन्दै गएको छ। घन्टौं सडक अबरुद्ध हुँदा यात्रुले सास्ती पाउँदै आएका छन्। केही दिनअघि यो सडक खण्डमा पहिरोसँगै झरेको ढुंगाले लागेर एकजना ट्रक चालकको ज्यान समेत गएको थियो।

पहिरोको कारण मंगलबार बिहान रोकिएका गाडी आज विहानसम्म पनि पार हुन नसक्दै चार किलोमा सानो पहाडनै खसेको हो। पहिरो ठूलो भएकाले हटाउन निकै समय लाग्ने अनुमान गरिएको छ।

पहिरोका कारण सोमबारदेखि नै नारायणगढ मुग्लिन सडक खण्डमा सहज रुपमा गाडी चल्न सकेका छैनन्।

यसैबीच पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभिरमा पनि पहिरो जाँदा यातायात अबरुद्ध बनेको छ। पहिलोले दुईवटा कारपनि पुरेको प्रहरीले जनाएको छ।