३५ सय ८५ मिटरको उचाईमा यसरी रमाउँछन् पर्यटक (फोटोफिचर)

एकै बर्षमा २३ लाख पर्यटक एउटा पहाडमा घुमफिरका लागि पुग्छन् भन्दा धेरैलाई जिज्ञासाको विषय बन्न सक्छ । त्यो पनि पहाडको एउटा पर्यटकिय केन्द्रमा ।

लाग्छ पहाड प्राकृतिक सम्पदा हो । तर यही प्राकतिक सम्पदाको चरम उपयोग गर्दै चीन सरकारले देशी तथा विदेशी पर्यटकहरुलाई तानिरहेको छ ।
सिचुवान प्रान्तको सोङप्याङ जिल्लास्थित ह्वाङलोङमा निर्माण गरिएको सेनीक स्पटमा सधैभरी हाइकिङ गर्नेहरुको भीड नै लाग्ने गर्दछ । घना जंगलको बीच भएर निर्माण गरिएको हाइकिङ मार्गले यहाँ पुग्ने जो कोही पर्यटकको पनि मन तान्न गरेको छ ।

३५ सय ८५ मिटरको उचाईसम्म पुग्नको लागि चीन सरकारले निर्माण गरेको केवलकार हुँदै पर्यटकहरु हाइकिङका लागि त्यसतर्फ जाने गर्दछन् । हाइकिङले यस क्षेत्रको पर्यटन विकासमा टेवा पु¥याएको ह्वाङलोङ सेनीक स्पटकी मार्केटिङ सेल्स विभागकी प्रमुख मिङ ज्याङले बताइन् । उनका अनुसार हाइकिङ गर्ने र ‘साइट सिन’ गर्न चाहने पर्यटकहरुको रोजाईमा सेनीक स्पट पर्दै आएको छ । ‘पहाडमा आठ किलोमिटरको गोलाकार हाइकिङ मार्गको निर्माण गरिएको छ ।’ उनले भनिन्, ‘जंगलभित्रका जीव जनावर र प्राकृतिक सम्पदाको अवलोकनका लागि पनि सेनीक स्पट महत्वपूर्ण मानिएको छ ।’

एक तथ्यांकका अनुसार गतबर्ष ह्वाङलोङ सेनिक स्पर्टमा २३ लाख पर्यटकहरुले हाइकिङ गरेका थिए । दैनिक २ देखि ३ हजार विदेशी पर्यटकहरु स्पटमा आउने गरेको बुझिएको छ ।

पहाडभित्रको जंगल घना भएपनि जंगलभित्र पसेपछि बाटोमा बिच्छ्याइएका बुट्टेदार काठका फलेकहरुले पर्यटकहरुको मन छुने गर्दछ । हाइकिङ मार्गहरुमा बगिरहेका पानीको आवाज र जंगलभित्रका कराउने चरीहरुले पर्यटकहरुलाई थप मन्त्रमुग्ध पार्ने स्थानीयहरु बताउँछन् ।

हाइकिङ मार्गहरुमा देखिने नोलो पानीका पोखरीहरुले पनि पर्यटकहरुको यात्रालाई थप मनोरञ्जन दिलाएका छन् । एकातिर जमिनमाथि माथि काठका बुट्टेदार फ्लेक मात्रै ओच्छएर निर्माण गरिएको मार्गले जंगलको शोभा बढाएको छ भने अर्कोतिर यसले पर्यटकहरुमा जिज्ञासा पैदा गरिदिएको छ ।
हाइकिङमा जाने पर्यटकहरुबाट यहाँको सरकारले प्रति पर्यटक २०० र केवलकारबाट घुम्न जाने पर्यटकहरुको लागि २ सय ८० चिनियाँ युआन लिने गर्दछ । हाइकिङ मार्गको ठाउँ ठाउँमा रहेका पानीका झरना, चौविसै घण्टा बगिरहने पानीको आवाज, र नीला पानकिो कुण्डहरुमा पर्यटकहरुको झुण्ड देख्न सकिन्छ । यस्तै जंगलभित्र हाइकिङका क्रममा देखिने पाण्डा, चितुवा लगायतका बन्यजन्तु र बनैभरी फुल्ने लालीगुराँसले पनि पर्यटकहरुलाई लोभ्याउने गर्दछ ।

चीन सरकारले ठिंग उभिएर बसेका पहाडलाई सजाएर पर्यटक तानेको छ । जनताले यसको संरक्षण गर्दै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मिठो बोली बचन दिएका छन्, सम्मान गरेका छन्, ओठमा मुस्कान दिएर सेवा दिइरहेका छन् । यहाँको सरकार करोड खर्च गरेर खर्ब कमाउन लागि परेको छ । सरकारले पूर्बाधार विकास गरेर असंभवलाई संभव पारिरहेको छ भने यहाँका जनता सरकारलाई साथ दिइरहेका छन् ।

चीनको तुलनामा छिमेकी मुलुक नेपाल प्राकृतिक सम्पदामा निकै धनि छ । तर सरकार प्राकृतिक सम्पदालाई चिन्ने प्रयास गर्दैन् । जसका कारण प्राकृतिक सम्पदाहरु त्यसै खेर गइरहेका छन् । नेपालका अग्ला अग्ला टाकुराहरुमा पनि पूर्बाधार विकास गर्ने हो भने सरकार र जनताले दशकौं अघिदेखि खोज्दै आएको सम्बृद्धि भेटाउन सकिन्छ । नेपालबाट चीनको भ्रमणमा आएका पत्रकार लक्की चौधरी नेपाल प्राकृतिक सम्पदामा धनी हुँदाहुँदै पनि त्यसबाट सोचअनुरुपको लाभ भने लिन नसकेको बताउँछन् । त्यस्तै, अर्का पत्रकार नारायणप्रसाद न्यौपाने र शम्भु कट्टेल पनि प्राकृतिक सम्पदाबाट देशले अर्थतन्त्र सुधार्न सकिनेमा जोड दिन्छन् ।

प्राकृतिक सम्पदाको भण्डार नै रहेको नेपालमा सरकारले एकबर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर चीनको एउटा प्रदेशमा रहेको एउटा पर्यटकीय केन्द्रमा एकै बर्षमा २३ लाख पर्यटक भित्रिएका छन् । मुलुकले आफूसँग भएको प्राकृतिक सम्पदा र बस्तुको उपयोग गर्दा अर्बौं रकम संकलन गरिरहेको छ । तर नेपालजस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुकको सरकार भने आफ्नै कानमा रहेको बहुमुल्य बस्तुको पनि ख्याल गर्न सकेको छैन् ।