६ असार – नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई अविलम्ब महाधिवेशनको प्रक्रिया अघि बढाउन दबाव दिने ढंगले प्रस्तुत हुन आग्रह गरेका छन् ।

सभापति भेलाका सहभागीहरुलाई दिइएको उनीहरुको पत्रमा अहिलेको कांग्रेस नेतृत्वबाट सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह हुन नसक्ने भन्दै नेतृत्व परिवर्तनको आवश्यकता औंल्याइएको छ ।

गगन थापा, चन्द्र भण्डारी लगायत आठ केन्द्रीय सदस्यहरुले हेटौंडामा जारी सभापति भेलामा वितरण गरेको पत्रमा प्रदेश र स्थानीय तहका अधिवेशन गर्न केन्द्रीय महाधिवेशन कुर्न नहुने भनिएको छ । महाधिवेशन कुरेर संघीय संरचनामा अधिवेशन नगरिए अर्को चुनाव पनि जित्न नसकिने उनीहरुको ठहर छ ।

पत्रमा भनिएको छ, ‘हाम्रो विधान अनुसार नियमित रुपमा पनि अर्को साल फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्छ । त्यसअघि गनुपर्ने वडा, गाउँपालिका, नगरपालिका, क्षेत्र र प्रदेशको अधिवेशन गर्न झण्डै एक वर्ष लाग्छ । यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन नकुरौं । यसले हाम्रो संगठनलाई सबै स्थानीय तहमा जीवन्त बनाउनेछ र सशक्त प्रतिपक्षको भूमिका हुनेछ । आगामी स्थानीय चुनाव हुँदै गर्दा हामी सम्पूर्ण तयारी अवस्थामा हुनेछौं । हामीलाई विश्वास छ, सभापतिज्यूहरुको यस बैठकले यी विषयहरुमा छलफल गरी महासमितिबाट नयाँ सांगठानिक संरचनासहितको विधान पारित गर्ने कुरामा ठोस मार्गनिर्देशन गर्नेछ ।’

आठ केन्द्रीय सदस्यहरुले कांग्रेसको वर्तमान नेतृत्वबाट पार्टी पहिलेको अवस्थामा पुग्न नसक्ने भन्दै नयाँ ढंगले सोच्न आग्रहसमेत गरेका छन् । उनीहरुले सभापतिको भेलामा निर्वाचनको समीक्षा र आगामी कार्यदिशाबारे छलफल गर्न आग्रह गरेका छन् ।

उनीहरुले पत्रमा भनेका छन्, ‘अहिलेकै शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका सम्भव छ ? छैन । अब कांग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगको लागि नयाँ एजेण्डालाई बोकेर हिँड्न सक्ने संगठनको खाका कोर्न जरुरी छ अनि त्यो एजेण्डा बोक्ने नेतृत्व पनि ।’

पत्रमा चण्द्र भण्डारी, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, धनराज गुरुङ, प्रदीप पौडेल, किरण यादव र रामकृष्ण यादवले हस्ताक्षर गरेका छन् ।