रेड्रिगेज विश्वकपमा आज साँझ पौने छ बजे आमनेसामने हुँदा कोलम्बिया र जापान विजयी सुरुवात गर्ने उदेश्यसहित मोर्डोभिया एरिना रंगशालामा उत्रनेछन।
रेड्रिगेज

तर, यस भिडन्तमा धेरै फुटबल प्रेमीहरुको नजर भने कोलम्बियाका स्टार जेम्स रड्रिगेजमाथि हुनेछ। जसले चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा सर्बाधिक ६ गोल गर्दै गोल्डन बल जितेका थिए। गोल्डन बल विश्वकपका उत्कृष्ट खेलाडीले पाउने गर्छन।

उनी खेल्ने भने निश्चित छैन। २६ वर्षिया वायर्न म्युनिखका मिडफिल्डर मांशपेसीको समस्यासँग जुधिरहेका छन्। समस्याका कारण उनी शुक्रबार भएको टोलीको अभ्यासमा पनि सहभागी भएनन। प्रशिक्षक जोसे पिकिरमेनले चिकित्सकको जवाफ पर्खिरहेको बताएका छन्।

‘हामी उनलाई अन्तिम मिनेटसम्म पर्खनेछौं,’ उनले भने, ‘हामीसँग पर्याप्त बैकल्पिक खेलाडीहरु पनि छन। हाम्रो टोली २०१४ को भन्दा अहिले निकै मजबुत छ।’

कोलम्बियन टोलीका अर्का मुख्य खेलाडी स्ट्राइकल राडामिल फाल्को हुन। चोटका कारण २०१४ को विश्वकप गुमाएका उनले कोलम्बियाका सर्बाधिक गोल गरेका छन। उनीसँगै जोसे इज्कुरिन्डो, जाउन क्विनटिरो, मटिउस उरुबे जस्ता खेलाडीले कोलम्बियालाई मजबुत बनाएको छ।

यदि रेड्रिगेज अनुपस्थित भए त्यसले कोलम्बियन दर्शकहरुलाई त निराश बनाउने छ तर जापानका प्रशिक्षक आकिरा निसिनोलाई भने राहात मिल्नेछ।

कोलम्बियाले जापानलाई २०१४ को समूह चरणमा ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो। रेड्रिगेजको उत्कृष्ट प्रदर्शनमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो।

‘रेड्रिगेज कोलम्बियाका मुख्य खम्बा हुन। अंक बटुल्ने र हौसला थप्ने काममा उनी माहिर छन,’ जापानी प्रशिक्षक निसिनो भन्छन्, ‘उनलाई रोक्न सम्भव पनि छैन। उनी मैदानभरि जहाँ गएर पनि खेल्न सक्छन। उनलाई रोक्न केही खेलाडी लागेर पुग्दैन्, पुरै टिम लाग्नुपर्छ। जुन सम्भव छैन।’

कोलम्बिया फिफा वरियतामा १६ औं स्थानमा छ भने जापान ६१ औं स्थानमा। त्यसैले खेलमा कोलम्बिया हावी हुने देखिन्छ तर कोलम्बियाका प्रशिक्षक पिकरम्यान भने जापानको तीव्र गतिमा खेल्ने क्षमतालार्इ कमजोर आक्न नहुने बताउँछन्।

‘जापान उत्कृष्ट मध्येको एक टिम हो, हामी विगत(२०१४ को जित)मा के भएको थियो बिर्सिसक्यौं, उनले भने, हाम्रो लक्ष्य दोस्रो चरणमा प्रवेश गर्ने हो। हामी कम्तिमा पछिल्लो विश्वकप भन्दा राम्रो प्रदर्शन गर्न चाहान्छौ।’