काँग्रेस पार्टी कार्यालयमै पुगेर प्रहरी दमन
सरकारले जंगली शैली ल्यायो: प्रवक्ता शर्मा
सरकारले बजेट घोषणासँगै दैनिक उपभोग्य बस्तुमा अस्वभाविक मुल्यबृद्धि गरेको बिरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) माथि प्रहरीले दमन गरेको छ । प्रहरीले आन्दोलन रोक्नका लागि सुर्खेतको काङ्ग्रेस पार्टी कार्यालयभित्र प्रवेश गरी आक्रमण गरेको हो ।

नेविसंघले देशैभर विरोध प्रदर्शन गरिरहेका बेला आन्दोलन रोक्न प्रहरी पार्टी कार्यालयभित्रै पुगेर हस्तक्षेप गरेको नेपाली काङ्ग्रेस सुर्खेतले जनाएको छ । जिल्ला नेताहरुका अनुसार आन्दोलनकारीलाई खोज्ने भन्दै प्रहरी पार्टी कार्यालयभित्रै पुगेका थिए । प्रहरीको यो हर्कतलाई भने काङ्ग्रेसले ओली सरकारको आतंकको संज्ञा दिएका छन् ।

सुर्खेत घटनाप्रति नेपाली काङ्ग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले गम्भीर आपत्ति जनाएका छन् । उनले आफ्नो एक ट्वीट गर्दै ‘सडक लोकतन्त्रको अभिन्न अंग हो, त्यहाँको प्रदर्शनपछि पार्टी कार्यालयभित्रै पसेर दमन गर्ने प्रयत्न जंगलीशैली हो । यस्ता घटनाको प्रतिवादमा सिंहदरबारभित्रै पसेर प्रमकै कार्यालयअघि प्रदर्शन गर्नुपर्ने स्थिति बन्न सक्छ । सरकार गम्भीर बनोस् !’ भनेका छन ्।

उता, घटनाको विषयमा नेपाली काङ्ग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले विज्ञप्ति जारी गर्दै प्रहरी हस्तक्षेपको विरोध गरेका छन् । उनले वर्तमान सरकार पञ्चायती र शाही शासनभन्दा पनि बढि अधिनायकवादी भएको ठहर गरेका छन् ।