राति पौनै नौ बजे तीस मिनेटको उद्घाटन समारोहमा इंग्ल्याण्डका गायक रोब्बी विलियम्सन र दुई पटक विश्वकप जितेका ब्राजिलका रोनाल्डोले प्रस्तुती दिएपछि सुरु हुनेछ विश्वकपको उद्घाटन खेल।

जहाँ भिडनेछन् विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये फिफा वरियतामा पुछारमा रहेका रसिया र साउदी अरेबिया। आयोजक रुस ७०औं स्थानमा छ भने साउदी ६७औं स्थानमा।

रुसलाई प्रतियोगिताको परम्परा धान्ने चुनौती हुनेछ। विश्वकपको उद्घाटन खेलमा हालसम्म कुनैपनि आयोजक राष्ट्र पराजित भएको छैन। रुसले यो परम्परा कायम राख्ला या टुट्ला?

प्रशिक्षक स्टानिस्लाभ चर्चेसोभको टोली रुसले अक्टोबर २०१७ यता खेलेका ७ खेलमा जित हात पार्न सकेको छैन। गत साता खेलेका वार्मअप खेलमा रुसले अस्ट्रियासँग पराजय बेहोर्यो भने टर्कीसँग १–१ को बराबरी खेल्यो। निकै खराब लय देखे पछि रसियाका पूर्व लिजेन्ड तथा म्यानचेस्टर युनाइटेडमा पूर्वविंगर अन्द्रे कान्चालेस्कीले आफ्नो जिन्दगीमा यो भन्दा खराब रसियन टोली नदेखेको प्रतिक्रिया दिएका थिए।

‘सही भन्नुपर्दा हामी प्रतियोगितामा त्यति रुचाइएका टोली हैनौं,’ स्ट्राइकर आर्टम डेजयुबाले भने, ‘हामी कसैका नजरमा विश्वकप जित्ने दाबेदार टोलीमा पनि छैनौं। तर, हामी कम्तिमा दोस्रो चरणमा प्रवेश गर्न चाहान्छौं। त्यसले घरेलु दर्शकसामु हामी पनि फुटबल खेल्न सक्छौं भनि प्रमाणित गर्नेछ भने देशले पनि हामीमाथि गर्व गर्ने वातावरण बन्नेछ।’

‘हामी आइस हक्की या बास्केटवलको देशमात्रै हैनौं,’ फुटबलको देशपनि हौं, उनले थपे, ‘सुरुमा हामीले दोस्रोचरणमा पुग्न आफ्नै सबै क्षमता लगाउनु छ। त्यसपछि मात्रै अघिको सोच्नेछौं।’

साउदी अरेबियाको लयपनि रुसको जस्तै छ। उसले विश्वकप जानुअघि खेलेका तीन वटै खेलमा पराजय भोगेको थियो। उसले इटाली, पेरु र जर्मनीसँग लगातार हारको सामना गर्नुपर्यो। सन् २००६ पछि साउदी पहिलोपटक यसविश्वकपमा छनोट भएको हो।

‘मलाई लाग्छ रसियाविरुद्धको खेल हाम्रालागि चुनौतीपूर्ण हुनेछ,’ साउदीका मिडफिल्डर यहया अल सेहरीले भने, ‘रसिया डिफेन्समा राम्रो टोली हो। तर, हामी आफ्नो खेलमा केन्द्रीत भयौ भने विश्वास छ हामी रसियालाई पराजित गर्न सक्छौं।’

टीम न्यूज
दुबै टोलीले आफ्नो उद्घाटन खेलमा पहिलो रोजाईका खेलाडी उतार्ने पक्का छ। रसियासँग डिफेन्समा राम्रा खेलाडीहरु भएकाले को उतार्ने भन्ने समस्या हुनसक्छ तर अनुभव र लयका कारण ३८ वर्षिया सर्जी इग्नाभिकिले मौका पाउने सम्भावना छ। यता, साउदीका प्रशिक्षक जोन अन्टोनियो पिजीलाई अट्याकमा मोहम्मद अल  वा मोहनद असारी मध्ये कसलाई उत्रार्ने भन्ने चुनौती हुनेछ।

हेड टू हेड र तथ्यहरु

  • रसिया र साउदी अरेबियाले यसअघि एउटा खेलमात्रै खेलेका छन्। १९९३ अक्टोबरमा भएको उक्त मैत्रीपूर्ण खेलमा साउदीले रसियालाई घरेलु मैदानमा ४–२ गोलअन्तरले पराजित गरेको थियो।
  • सोभियत संघ विघटन भई रसिया बनेपछि रसिया कहिलेपनि नकआउट चरणमा पुग्न सकेको छैन्। १९९४, २००२ र २०१४ को विश्वकप खेलेको रसिया समूहको तेस्रो बन्दै प्रतियोगिताबाट बाहिरिएको छ।
  • रसियाले आफ्ना पछिल्ला विश्वकपका पाँच खेलमा जित हात पार्न सकेको छैन। सोभियत संघ विघटन भएयता उसले विश्वकपमा दुईवटामात्रै जित हात पार्न सकेको छैन। एउटा, १९९४ मा क्यामिरुनविरुद्ध र अर्को २००२ मा टुनिसियाविरुद्ध।
  • आयोजक राष्ट्र भएर पछिल्लो उपाधि जित्ने राष्ट्र फ्रान्स हो। उसले १९९८ मा आयोजकका रुपमा ट्रफी उचालेको थियो। २०१० मा दक्षिण अफ्रिका एउटामात्रै त्यस्तो राष्ट्र बनेको थियो जो आयोजक भएर पनि दोस्रो चरणमा प्रवेश गर्न सकेन्। बाँकी हालसम्मका सम्पूर्ण विश्वकपमा आयोजकहरु दोस्रो चरणमा प्रवेश गरेको इतिहास छ।
  • साउदी अरेबियाको यो पाँचौ विश्वकप हो। पछिल्लो पटक २००६ मा विश्वकप खेलेका उनीहरु समूहको अन्तिममा रहेका थिए। १९९४ मा उनीहरु दास्रो चरणमा पुगेका थिए। त्यही नै उनीहरुको विश्वकपमा उत्कृष्ट प्रदर्शन हो।
  • साउदी अरेबियाले विश्वकपका पछिल्ला १० खेलमा कुनैपनि खेलमा जित हात पार्न सकेको छैन। आठवटामा पराजय भोगेको छ भने २ वटा बराबरी खेलेको छ। उनीहरुले अन्तिम पटक बेल्जियमलाई समूह चरणमा १९९४ को विश्वकपमा १–० गोलअन्तरले पराजित गरेका थिए।

प्लेयर्स टू वाच

फेदोर स्मोलोभ (रसिया)

रसियन टोलीका ठूला स्टार स्मोलोभ स्ट्राइकर हुन्। उनले रसियाबाट ३२ खेल खेल्दै १२ गोल गरेका छन्। २०१८ मा रसियाले खेलेका चार प्रतियोगितामा जम्मा दुई गोलमात्रै गर्न सकेको थियो। ती दुई गोल गरेका थिए, फरवार्ड फेदोर स्मोलोभले। रसियाको घरेलु लिगमा पनि उनले ५२ गोल गरिसकेका छन्।

अल सहलावी (साउदी अरेबिया)
सालवाही साउदी अरेबियाका मुख्य स्ट्राइकर हुन। उनको गती र तीव्र खुट्टाको चाल विशेष मानिन्छ। उनले विश्वकप छनोटमा १६ गोल गरेका थिए। देशका लागि ४० खेल खेल्दै उनले २८ गोल गरेका छन्।