चितवन, ३० जेठ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको एक मात्र आवश्यकता समृद्धि भएको बताएका छन् ।

भरतपुर महानगरपालिकाले आयोजना गरेको समृद्ध भरतपुर महानगरको एकिकृत विकास गुरुयोजनाका लागि अवसर, चुनौती र भावी कार्यदिशा विषयक एक दिने कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष प्रचण्ड अहिले सत्ता पक्ष, प्रतिपक्षको एजेण्डा विकास र समृद्धि रहेकाले अबको यात्रा विकास तर्फ लम्किएको बताए ।

हिजोको दिनमा निरङकुश विरुद्धको अन्दोलन, राणा शासन विरुद्ध, संविधान सभा र संविधानको घोषणामा सत्ता पक्ष र प्रतिपक्ष एक ठाँउमा उभिएको भन्दै अध्यक्ष प्रचण्डले मुलुकको विकासको निम्ति सबै दल एक ठाँउमा उभिने वातावरण सिर्जना भएको बताए । यो खुशीको कुरा हो, उनले भने, ‘अबको संघर्ष विकासको निम्ति हो । विकास र समृद्धि कुरामा सबै दलको सर्वसम्मत भईरहेको छ ।’

अध्यक्ष प्रचण्डले आज सिङ्गै राष्ट्र समृद्धिको पक्षमा एक मत रहेको उल्लेख गरे ।

मुलुकमा हुने गरेका छलफलहरु विकासकै बारेमा केन्द्रित हुने गरेको उनको भनाई छ । अब एक दशक विकासको दशकका रुपमा रहने अध्यक्ष प्रचण्डले बताए ।

गुरुयोजनाका लागि भरतपुर महानगरपालिकाले ३ जना विज्ञलाई छलफलमा समावेश गरेको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाको लागि दिर्घकालिन योजनाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा। सुनिल बाबु श्रेष्ठ र शहरी विकास विज्ञ डा. सूर्यराज आचार्यले आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

विज्ञहरुको कार्यपत्रमाथि चितवन उद्योग, व्यावसायीहरुले टिप्पणी गरेका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सांसदलगायत विभिन्न कार्यालयका प्रमुखहरुले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति एवः भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले गुरुयोजना विनाको विकास उपयुक्त नहुने बताए ।

गुरुयोजना निमार्णका लागि २९ वटा वडाको तल्लो तहसम्म सुझावहरु संकलन गरिने जानकारी दिए । भरतपुरको विकासको निम्ती केहि महत्वपूर्ण निर्माणका कार्यहरु भईसकेको उनको भनाई छ ।