काठमाडौ, जेठ २९

काठमाडौ, भारत भ्रमणमा गएका प्रधानसेनापति राजेन्द्र क्षत्री गोर्खा सैनिकको इतिहास जोडिएको नालापानी भ्रमण गरेका छन् । उनले देहरादुनको खलंगामा रहेको वीर गोर्खाली शहीद स्मारकमा माल्यार्पण गर्दै  शहीद स्मारक गोरखा सैनिको बहादुरीको इतिहास भएको बताएका छन् ।
क्षेत्रीले भारतीय पुरातत्व सर्वेक्षण र खलंगा वार मेमोरियल विकास समितिले शहीद स्मारकको जीर्णाेद्वा र रेखदेख गरेकोमा सराहना पनि गरेका थिए । नालापानी पुग्ने उनी पहिलो नेपाली सेना प्रमुख हुन् ।
नालापानी स्मारक गोर्खा सैनिकको बहादुरीको एतिहासिक स्थल हो । यो विश्वकै यस्तो युद्ध स्मारक हो जसलाई ब्रिटिस सेनाले आफ्नो दुश्मन सैनिकको सम्मानमा बनाएको हो ।

भारतीय सेनाका सेनाध्यक्ष जनरल बिपिन रावतको औपचारिक निमन्त्रणामा ६  दिने भ्रमणमा भारत गएका उनी सोमबार स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनले   भारतका रक्षामन्त्री, रक्षा सचिव, राष्ट्रिय सुरक्षा सल्लाहकार, जल सह सेनाध्यक्षसहित अन्य उच्च पदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने सेनाको विश्वास रहेको छ । उनी जेठ २३ गते भारत गएका थिए ।