राष्ट्रियसभा कार्य सञ्चालन नियमावली आज पारित हुँदैछ।

विहान ११ बजे बस्ने राष्ट्रियसभा बैठकले नियमावली पारित गर्न लागेको राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले जानकारी दिइन्।

नियमावलीको विषयमा शनिबार नै प्रमुख दलहरुबीच सहमति भईसकेकाले आजको बैठकले नियमावली पारित गर्ने निश्चित रहेको दाहालको भनाई छ।संसद भवन

संसद भवन
फाइल फोटो

नियमावली मस्यौदा बनेको लामो समय बितिसक्दा पनि दलहरुबीच मतैक्यता हुन सकेको थिएन। संघीय संसदले गएको शुक्रबार प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली पारित गरेको थियो।

पारित नियमावलीमा फौजदारी अभियोग लागेका सांसद् निलम्बन नहुने प्रावधान राखिएको छ। जसको चौतर्फी आलोचना भईरहेको छ।

संघीय संसद्को बैठक सुरु भएको तीन महिनापछि प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली पारित भएको हो। प्रतिनिधिसभाको नियमावली पारित भएसँगै आज राष्ट्रियसभा नियमावली पारित पनि पारित हुन लागेको हो।

राष्ट्रियसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन नै अन्तिम नियमावलीको रुपमा पारित हुन लागेको उपाध्यक्ष दाहालको भनाई छ।

समितिले तयार पारेको प्रतिवेदन अनुसार राष्ट्रियसभामा चारवटा विषयगत समिति रहनेछन्। जसमा दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहनेछन्।

राष्ट्रियसभाका अध्यक्षको नेतृत्वमा आचरण अनुगमन समिति पनि गठन हुन सक्ने व्यवस्था नियमावलीमा गरिएको छ।

त्यस्तै, सरकारको उत्तरदायित्वभित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमा राष्ट्रियसभा सदस्यले प्रश्न गर्न पाउने व्यवस्था पनि नियमावलीमा गरिएको छ।

त्यसैगरी प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि सदस्यहरुले उठाएका विषयमा विभागिय मन्त्रीले पाँचदिन भित्र जवाफ दिनुपर्ने प्रावधान पनि नियमावलीमा गरिएको छ।