प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पनि सगरमाथा चढ्ने रहर भएको भए पनि चढ्न नसकेको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच सगरमाथा आरोहण गरेर फर्किएका महिला पत्रकारहरुलाई सम्मान गर्दै ओलीले यस्तो बताएका हुन् ।

सम्मानपश्चात् प्रधानमन्त्री ओलीले सगरमाsamman_Tapaikokhabarथा चढेको मनोवलले अन्य साहसिक काम गर्न सुझाएका थिए। ‘एकपटक आरोहण गरेपछि पटक–पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ।’, उनले भने, ‘सगरमाथा चढेको मनोवलले अन्य साहसिक काम गर्नु राम्रो हुन्छ।’

आफूलाई पनि सगरमाथा आरोहणको रहर भएपनि युवावस्थामा राजनीति गर्दा भूमिगत बस्नु परेको र त्यसपछि १४ वर्षसम्म जेल बस्नु परेकोले त्यो अवसर नपाएको उनले बताए। ‘मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो।’, प्रधानमन्त्री ओलीले भने,‘भूमिगत जीवन, जेल जीवनले पाइन। जब जेलबाट छुटेपछि कमजोर स्वास्थ्यले दिएन।’

प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा कहिल्यै पनि लापरवाही गर्न नहुने धारणा राखे। उनले भने,‘हिमाल आरोहणलाई मजाकको विषय बनाउनु हुँदैन। स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु हुँदैन। स्वास्थ्य ठिक भएपछि वा जोखिम घटेपछि पुनः आरोहणको प्रयास गर्नुपर्दछ। सफलता अवश्य पाइन्छ।’

सगरमाथा आरोहण गर्ने पाँच सफल आरोही पत्रकारमा रोजिता बुद्धाचार्य, रोसा बस्नेत, देउराली चाम्लिङ, कल्पना महर्जन छन्। टोलीमै रहेकी प्रियालक्ष्मी कार्की स्वास्थ्यको कारणले ७ हजार मिटर उचाइमा पुगेर फर्किनुपरेको थियो।