काभ्रे

काभ्रेकाे एक गाउँमा सहिद परिवारसँग नेकपाका नेता सुदर्शन, रणवीर र गंभीरलगायतका नेताहरू ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनजागरण अभियान लिएर गाउँ गाउँमा अाइपुगेको छ ।

यो अभियानका क्रममा सो पार्टीका शीर्ष नेताहरु प्रत्यक्ष जनताको बीचमा पुगेका छन् । नेकपाका स्थायी समिति सदस्य एवं मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शनसहितको नेतृत्व टोली जनताको बीचमा अाइपुगेका छन् ।

साथै यो अभियानमा नेकपाका पोलिटव्युरो सदस्य भरत बम रणवीर, कृष्ण धमला गंभीर, केन्द्रीय सदस्य बाबुराम गजमेरलगायतका नेता कार्यकर्ताहरु काभ्रेका विभिन्न गाउँवस्तीमा छन् ।

दश वर्षे जनयुद्धकालमा महत्वपूर्ण योगदान गरेका यी गाउँ र वस्तीहरुलाई पुन प्रशिक्षित गर्न आफ्नो पार्टीका नेताहरु गाउँ फर्किएको सो पार्टीका नेताहरुले बताएका छन् ।

नेताहरुले जनयुद्धका सहिद परिवार, घाइते योद्धा, जनयुद्धमा धोका पाएर अलपत्रमा परेका कार्यकर्ता र जनतालाई एकीकृत जनक्रान्ति किन आवश्यक छ भनेर प्रशिक्षित गरेको नेकपा पूर्वी ताम्सालिङ इन्चार्ज बाबुराम गजमेरले जानकारी दिए ।

‘प्रचण्ड बाबुरामहरुले जुन व्यवस्थाका विरुद्ध हतियार उठाए आज उनीहरु त्यही व्यवस्थामा फर्किए’, नेकपाका नेता हेमन्तप्रकाश ओली सदुर्शन भन्छन्, ‘प्रचण्डहरुले आत्मसमर्पण गरे पनि हामीले गरेका छैनौं, त्यही कुरा भन्न हामी गाउँमा आएका हौं’

नेकपाको सो अभियानमा सहिद परिवार, घाइते योद्धा र पूराना कार्यकर्ताहरुले विप्लवको नेतृत्वमा हुने क्रान्तिलाई साथ दिने तर प्रचण्डले जस्तै धोका नहोस भनेर सुझाव दिएका छन् ।

‘त्यत्रो जनयुद्ध लडेर हामीले केही पाएनौं र हाम्रो जीवनमा कुनै परिवर्तन आएन, प्रचण्डहरुले धोका दिए’, जनयुद्धका एक पूराना कार्यकर्ता धनबहादुर तामाङ भन्छन्, ‘हाम्रो साथ जनताका लागि क्रान्ति गर्नेहरुलाई हुनेछ, तर हामीलाई प्रचण्डले जस्तै धोका नदिनु होला’

माघ १५ देखि शुरु भएको विप्लव नेतृत्वको एकीकृत जनजागरण अभियान जेठको अन्तिमसम्म संचालन हुने सो पार्टीले जनाएको छ ।

संसदीय पार्टीहरु काठमाडौंका सुविधासम्पन्न ठाउँहरुमा बसेर राजनीति गरिरहँदा नेकपाका नेताहरु भने गाउँ गाउँमा आइपुगेका छन् ।