काठमाडौं जेठ १५ तत्कालीन माओवादी केन्द्रका नेता तथा पूर्व सभासद बालकृष्ण ढुंगेल रिहा भएका छन्। उनी कर्तव्य ज्यान मुद्दामा डिल्लीबजारस्थित सदरखोर जेलमा जेल सजाय भोगिरहेका थिए।

४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीको बाँकी कैद माफी हुने प्रवाधानअनुसार सरकारले ढुंगेललाई बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको थियो।

उक्त सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार स्वीकृत गरेपछि ढुंगेल आजै जेलमुक्त भएका हुन्।

गणतन्त्र दिवसका अवसरमा ढुंगेलसहित ८ सय १६ कैदी जेलमुक्त हुने कुरा सोमबार साँझ राष्ट्रपति कार्यालयले बताएको थियो।

राष्ट्रपति कार्यालयद्वारा सोमबार बेलुका जारी विज्ञप्तीमा भनिएको थियो, ‘आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ।’

सर्वोच्चले आज ढुंगेलसम्बन्धि सक्कल फाइल झिकाउने आदेश दिएको भए पनि राष्ट्रपतिबाट उनको बाँकी कैद मिनाहा गर्ने निर्णय भएको हो।

द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा जिल्ला अदालतको फैसलाअनुसार ढुंगेल द्वन्द्वकालमै साढे सात वर्ष जेल बसेका थिए।

पछि पुनरावेदन अदालतले सफाइ दिएपछि उनी जेलमुक्त भएका थिए। तर फेरि सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी गत कात्तिक १४ गते पक्राउ परेका थिए।

ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलनका आधारमा बाँकी कैद माफी हुने प्रवाधानअनुसार ढुंगेल आज जेलमुक्त भएका हुन्।

आज विहान रिहा भएका ढुङ्गेललाई विहान १० बजे पार्टी केन्द्रले पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा अभिनन्दन गर्ने भएको छ।